माथिबाट ओर्लदैँ आएको एक फोको मुस्कान
सहसा पोखिन्छ एक अँजुली घाम जस्तै
छिचोलेर हुस्सुको परिधि र छरिन्छ मेरो मनभरि ।
दिक्क मान्दै उक्लिरहेका पैताला
हलुँगा हुँदै जान्छन् अनायास
र यस्तो लाग्छ -
त्यही मुस्कानभित्र समावेश भएका छन्
हाम्रा अनन्त आकाङ्छा र सम्भावनाहरु ।
खै, मैले सोध्नै बिर्से उनको नाउँसम्म
अनुराधा थिइन् वा सुनगाभा ?
तर यस्तो लाग्यो -
उनलाई मैले धेरै अघिदेखि चिनेको छु
किनभने -
त्यही एक फाँको मुस्कानमा -
एउटा नमस्कारमा जिन्दगीभरिलाई पुग्ने
सद्भावना र अात्मीयता थियो ।