केहीसपनाका स्लाइडहरू
तिम्रो अघिल्तिर छरिदिएको थिएँ
यात्रा थाल्दा आँसुहरू आँखाका कापकापबाट चुहिँदै थिए
आशा राखेको थिएँ
तिमीले सह्माल्नेछौ एकदुई मुठी ।
कसैको अगाडि नाङ्गिएर
अलिकति सहानुभूति, हेरचाह र मुस्कान खोज्नुलाई नै
मान्छेले सायद प्रेम भन्दछन्।
म नाङ्गिएको थिएँ अनि प्रेमका लुगा माग्दै थिएँ
तिमीले मलाई ‘इम्पेरर्स न्यु क्लथ’ लगाइदियौ ।
अवर्णनीय सुन्दर र मुलायम
तिनै लुगाहरूमा म आजसम्म
सुन्दर देखिन्छु, आभिजात्य देखिन्छु
मान्छेहरू मेरो सुन्दरताको वर्णन गरेर
‘इपिक’ कथ्दैछन्।
तर, उता तिम्रो विवाहपश्चात्
यता जन्मिएकी मेरी छोरीले
आज मलाई नराम्रो र डरलाग्दोसँग झ्सङ्ग पारेकी छे
भन्छे, “बाबा, तिम्रो आङमा किन कहिल्यै पनि लुगा छैन ?”