ढोका मानव–मुटुको / कुन्ता शर्मा
ढोका हुन्छ रे मानव–मुटुको पनि
जो बन्द रह्यो भने सधैँ
जो निश्चल रह्यो भने सधैँ
निरन्तर बजिरहने घडीको टिकटिकजस्ता
यसका धडकनहरू
ब्यारेकमा बन्द सिपाहीजस्तै
डरलाग्दा हुन पुग्छन् रे
त्यसैले खोलिनुपर्छ ढोका मानव–मुटुको
र धडकनहरूमा यसको गुञ्जित हुनुपर्छ
गीत मानवताको, सङ्गीत स्नेह र आत्मीयताको
प्रश्न उठ्छ एउटा
कसरी खोलिनुपर्छ होला यो बन्द ढोका
कुनै साँचो हराएको दराजजस्तै या
जबर्जस्ती औषधी खुवाउन खोलिएको
नानीहरूको मुखजस्तै
होइन, होइन यो जाँगरिली गृहणीले
सूर्योदयको बेला घरक्क खोलेको
ढोकाजस्तो खोलिनुपर्छ
समयले आफ्ना नरम–नरम औँलाहरूले
फूलका पत्रदलहरू खोलेजस्तै खोलिनुपर्छ
अथवा अत्यन्त कुशल हातहरूले
बाजाहरूबाट
सङ्गीतका सुरहरू खोलिएजस्तै
खोलिनुपर्छ ।
हो यो ढोका मानव–मुटुको
प्रेमपूर्वक भित्रैबाट खोलिनुपर्छ
अन्तरालबाटै खोलिनुपर्छ ।