भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नवनिर्माणको वेला / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:46, 29 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


१.
ए निर्माण नाइके युवक हो !
तिम्रो अगाडिको यो कार्यपथ
कुनै कहाली लाग्ने भीर होइन,
त्यो ता केवल परिश्रमको मीठो फल फल्ने
कर्मठ जीवनको मायालु निधान हो,
सामाजिक अनैतिककताको भुत्भुतेमा पिल्सिएका
ती दीनहीनको चीत्कारमा हेर
एकले एकलाई दलेको मात्र होइन
दिनमै अन्धकार ल्याएको छ
त्यसैले यहाँ नवनिर्माणको वेला आएको छ।

२.
ए बाटो बिराएका बटुवा हो !
तिमी पुग्न अझै टाढा छ,
यो विश्रान्तिको समय होइन,
शहीदको सपना साकार पार्नलाई
सुखदुःखको महान् अभियानमा
अझै छिटो छिटो पाइला चाली
तिमीले अघि बढ्ने दिन आएको छ,
यहाँ नवनिर्माणको वेला आएको छ ।

३.
देशका कुनाकुनाका
एक करोड ढुङ्गा र इँटाका समूहले बनेको
यो साझा घरको चारैतर्फ
युगौंदेखि सञ्चित भइरहेका आशा
वर्षौंको प्रयास र कयौंका तपस्याले
प्रगतिमा पाइला चाल्ने
खँदिलो प्रेरणा पाएको छ,
यहाँ नवनिर्माणको वेला आएको छ।

४.
यो मसाने बगरको हाहाकार चीत्कारलाई मेटी
शताब्दीदेखिको फोहर मैला
अनि ऊँच नीचको विषमतालाई आमूल वहाउने
जलै जलले भरिएको
एक शुद्ध सरिताको आशा लहराएको छ,
यहाँ नवनिर्माणको वेला आएको छ।

५.
आज हिमालयका प्रत्येक चुलीबाट मात्र हैन
पहाडका कन्दरा कन्दराबाट र
तराईका गहन झाडीका साथ
छहराको मधुर ध्वनिमा
हरियो वनको पातपातबाट निस्केको
चरीको रसिलो आलापमा
हावाको चञ्चल तरङ्गमा समेत
देशले कुनाकुनाबाट एउटै गीत गाएको छ,
यहाँ नवनिर्माणको वेला आएको ।

६.
समतल धराको काखमा तरङ्गिएका
ती नदीका लोल लहर झैं,
सुख र शान्तिको सङ्गममा
नयाँ जीवनको नौका फिराउन
दुःख, वेदना, रिस र ईर्ष्यालाई छोडेर
प्रत्येकको मानसमा आज एउटै आशा अङ्कुराएको छ,
यहाँ नवनिर्माणको वेला आएको छ।