विपनामा ब्यूँझेको बिहान / नोर्देन रुम्बा
भताभुङ्ग भएको
एउटा गन्धे धुले सडकमाझ उभिदिन्छ,
अचानक आफैसित देखापर्छ
एउटा मान्छे
फेरि, एकक्षण बिसाउनी खोज्छ,
अनुभव गाउन
खै त आगोमा ठिहीभित्र सम्झन्छ, ऊ
हरिया पहाडहरू उभिन्छन्, ऊ अघि...
उडाएर लान खोज्छ उसकै सासको प्रवाह उसलाई...
जिन्दगी निलिदिन्छ ऊ
एकक्षण इतिहास बोल्छ
कि यहाँ कसैको आडमा न हो
कसैको नाममा न हो
ऊ यता उति बाँचको हुन्छ ।
इतिहास समाधि मात्र हो महानहरूको
जहिले पनि हार खाएको छ मान्छेले मान्छेबाटै
जहिले पनि डर बोकेको छ मान्छेले मान्छेकै
अनि सधैँ ऊ हार्छ आफैसित पनि
बिहान आकाशको तारा जस्तो
जिन्दगी तर बाँच्नु हो
आस्था जीवन हो
सबै एक जन्मन्छन्
क्रान्ति आउँछ यसर्थ यहाँ अधिकारका शर्तमा
मन्दिर भत्किन्छ, तोडिन्छ चारैतिर
जहाँ देवता छैन
प्रत्येकपल्ट हिमालय चिच्याउँछ-
"मेरै छातीले त थामेको छ तेरो अस्तित्व !"
सभ्यता जीवन हो प्रेम हो, एउटा समझ ।
तर पनि रगत बग्नुपर्छ, आँसु खस्नुपर्छ
"हुनु वा नहुनु" प्रत्येक मान्छे चिच्याउँछ,
बौलाहा जस्तो ।
महत्वाकाङ्क्षाहरू सब जादुभित्र निदाइदिन्छ
एउटा जिउँदो मान्छे चिहानभित्र सर्लक्क पस्छ
सन्ततिहरूलाई समाएर !