भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

क्यामेलिया फुलेको छ लटरम्म आँखामा / नोर्देन रुम्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:40, 1 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=नोर्देन रुम्बा |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

एक झर्को पानी...
एक डाँडा घाम...
एक पाखा जिन्दगी...
आह ! सजिलो छ फगत
रुझ्नु,
डुब्नु,
रिङ्नु
क्यामेलिया फुलेको छ लटरम्म आँखामा
धूप्पीको छेउमा
खसेको जस्तो भएर कर्कलामा साँझ
बिजुलीको तारमा अल्झेको चङ्गाभरि, साँझ
म बग्छु...ब...ग्छु
बगि...न्छु...खोला
म बज्छु...बज्छु...केही सङ्गीत
गीत छ अथाह भैरवी निरपेक्ष बिहान
रातो गुराँस भिजेको हिमाल पर
बैतरणीसम्मदेखि अँधेरोमा फर्की आएको
गाऊ होसन्ना गाऊ
भेँडीगोठहरू कति
रगतले भिजेका ओठहरू कति
खरीका बोटहरू कति
जँघार जँघार गोता खाँदै आएका
पहाडका भञ्ज्याङका चोटहरू कति।
अर्केष्ट्रा हो
तारका टाउकाहरू माथिमुनि,
धूवाँको, आगोको,
गोरेटो र अनन्त पाइलाहरूको
सडक र अयाम पाङ्ग्राहरू, विष्फोटको
क्यामेलिया फुलेको छ लटरम्म आँखामा
किमार्थ अँधेरी भन्छु कहीँ तर भइदिए पनि हुन्थ्यो
डम्फु, खैँजडी बजाउँदै घरका झ्यालहरूबाट
ढोकाहरू छानाहरूबाट,
कान्लाहरूबाट सिङ बजाउँदै जाने फेरीवालसित ।
बिग्रेका छन् भन्छ संस्कार नै, स्वरूप नै ।
स्थिति नै, निमिट्यान्न ।
देशान लागेर कुखुराका चल्लाहरूसित बिग्रेका
अनिकाल भएर फसलहरूसित
घाम छेल्ने डाँडाहरूसित
फराकिलो समुन्द्र छ
आउँछन्, जान्छन् जहाजहरू
बिग्रेको छ गोली बोकेर धेरैकुरा
दुइउक पर्वसँग डराएर धेरैकुरा
जङ्गल बास बसेर वायु फलाक्दै भाग्नु
निरन्तर भागिरहनु ।
बस्ती उजाड पार्दै
बारीहरू सखाप पार्दै, बिग्रेका छन् भेँडीगोठहरू
कि दलीनमा टाँगेर सपनाहरू निःशब्द
बिग्रिएछन् खेतहरू अपार
तार बाँध्नु नजानेर सारङ्गीको
गीतहरू पनि भाँचिए बेस्याहार
गुँडे होलान् नेभाराका बोटहरूमा
खोज्नु पर्छ
अर्केष्ट्रा हो
सूट टाई लाएर पनि खोज्नु पर्छ,
हामी नाङ्गा छौँ
बदनाम छ समय नै दुर्गन्धले भिजेर नशाहरूमा
खुल्लमखुल्ला रजस्वला भए जस्तो
बीच बाटोमा करणी गरे जस्तो
कि कहीँ मेलाको भीडमा तुहाउनु पसि्रए जस्तो
बदनाम छ हामी नाङ्गा छौँ
निर्वस्त्र, निर्लज्ज इतिहासको खोल लाएर
रिङपाट् खेल्दै गरेको बजारमा, नाङ्गो
कि गाठेमङ्गलको जात्रा हो।
अजाजुजे हो।
क्यामेलिया फुलेको छ लटरम्म आँखामा।
निर्निमष ग्रामोफोनको धून रेलिँदैछ
नयाँ कमिज छ, लाएर यसो टहल्नु पनि छ
...चौरस्तामा...
मलामी पनि छ जानु यसो विचार भन्दै आज
नयाँ लाइन जोड्नु पनि छ बिजुलीको नयाँ कोठामा
नुहाउनु छ, धेरै भियाउनु छ आज
अलिक हतार छ।
अर्केष्ट्रा हो ।