हे सङ्कीर्ण विचारले हृदयमा जालो बुनेका जन
सक्तैनौ अब यो विशाल दुनियाँदेखि त्यसै उम्कन
रोएको जनजीवनीतिर नभै अन्यत्र धस्छौ घँडा
छिः साहित्यिक बन्न आँट गरने तिम्रो कमलका ठुँडा
सम्झिन्छौ कि दवाइदिन्छु मनले हाम्रा बगेका रगत
सक्थ्यो के अब छेक्न भै व्यथित यो ब्यूँझिसकेको जगत
छौ गर्दै तिमी तैपनि धरतीमा साह्रै ठूलो दुष्मनी
जागेको जन–श्रोतले भन, अनि छाड्थ्यो त्यसै के भनी
बासेका कुखुरा सुनी उदयका सङ्केत आइसके
कोदाला नभमा किसानहरूले देख्यौ उठाइसके
चुल्दैनौ किन हो अझै पनि गमी बाटो उज्यालो तरफ
ज्यूँदो माग छ देशको, तिमीहरू लेख्छौ मरेको हरफ
आइद्यौ उठ देशको हित हुने साहित्य उद्यानमा
थुक्ने नत्र छ वंशले तिमीपछि तिम्रो गई च्यानमा
बुद्धीको पहरो रसाउन सके साँचो कुरा बोलिद्यौ
आफ्ना ती अभिशाप रूप मनका पर्दा छिटै खोलिद्यौ