आगाको झिल्को / दीपक शम्चू
फक्रनै लागेको बैँसलाई खरानी-फूलले छोपेर
ओभानो अगेनोभित्र चुपचाप लुकिरहेको छ
आगाको झिल्को ।
त्यो शान्त आगाको सागरमा
प्यास मेटेर कहिल्यै नसकिने तिर्खा हुनसक्छ
पूरा गरेर सपना कहिल्यै नरित्तिने रहर हुनसक्छ ।
शायद, सबैलाई हुँदो हो
यौवनसँग खेलेर आगोजस्तै बल्ने रहर ।
होस्, छुपाएको झिल्को जस्तो छ त्यस्तै छोडिदेऊ
नछोएरै आनन्दमा रमाऊ
टाढै बसेर नदेखेझैँ गरी आफैभित्र हराऊ ।
छिसिक्क छुनमात्र खोज्यौ भने झिल्को
बिच्किएर एकाग्रता छरपष्टै पोखिन सक्छ
झुक्किएर फालिहाल्यौ भने एकझोक्का सास
डढेलोजसरी जताततै सल्किन सक्छ ।
जसरी लुकिरहेको छ आगाको झिल्को
त्यसैगरी शान्तले नचलमलाई बस्नू
रोकेर सास, होसियारीका साथ फेर्नू
नसामा अनियन्त्रित कुदिरहेको रगतलाई
बेवास्ताझैँ गरी छोडिदिनू ।
बरु
धागो बाटेर सपनालाई रहरको कुरुसले मजेत्रो बुनिरहनू
अडेसा लगाएर क्षितिजलाई ताराहरू कुरिरहनू ।
खर्लप्प निलेर अँध्यारो
कुनै दिन आइपुग्नेछ
तिमीसामु आगाको झिल्को ।