Last modified on 16 मई 2020, at 22:22

तिमीलाई देखेको समय / प्रकाश सायमी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:22, 16 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रकाश सायमी |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिमीलाई देखेको समय
मभित्र मौन उज्यालो खस्छ
अथाह वेग लिएर
तिमी समक्ष मेरो सामुद्रिक मनले
कविताको
भूगोल बनाउँछ
यत्र तत्र ।

चूपचाप तिमी कतै
चूपचाप म कतै
दुई अपरिचित जहाजजस्तै
हामी नाइल नदीको किनार भएर
बगिरह्यौँ
समय एक स्थिर स्वर भएर पर्खिरहेछ,
हामीलाई- चूपचाप ।

सिमानाको बाटो भएर बसेका
तिम्रा अचल नयनमा
असमान जुलुस देख्छु
आमन्त्रणको ।

म नतस्मतक
ऐना सम्मुख
सिँदूरको प्रतोलिका लिएर
उभिएकी विधवा झैँ
तिम्रा आँखाका गुफामुनि
आत्मसमर्पित छु
प्रिय !

हामी कविताका दुई पंक्ति झैँ
किनार किनार छौं
हामी कविताका दई मुद्रा झैँ
अधर अधर छौँ
तिमीलाई देखेको समय
मैले मेरो ईश्वर मरेको घोषणा गरेँ
तिमीलाई देखेको समय
मैले मेरो नयाँ ईश्वर जन्मेको घोषणा गरेँ ।