भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सर्पहरू त जहाँ पनि हुन्छन् / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:53, 8 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सर्प हिँडेको हुनसक्छ अँध्यारोमा भनेर
हिँडन छोड्यो भने मान्छेले
च्याउको छातामा टाउको लुकाउन खोज्ने भ्यागुतो हुनेछ ।

कुकुर र स्याल उस्तैउस्तै भए पनि
हात्ती र चप्पल जस्ता समान भने होइनन् ।
कुकुर इमान्दार छ
दिउसो उत्तानो सुत्छ
राती भुक्दछ,
स्याल दिउसो लुक्छ, राती कराउँछ।

मेरो क्रान्तिको उद्देश्य,
चौबीसै घन्टा उज्यालो हुनुपर्छ भन्ने थिएन
भाले कुखुरो ओथारो बस्ला भन्ने कल्पना पनि होइन।

धान रोप्ने काम वर्षामा नै गर्नुपर्छ
बाढीले बीउ बगाउनु बेग्लै हो ।

असमय बत्ती निभ्नु र
मध्यरातमा सूर्य उदाउनु
उत्तिकै विषादपूर्ण हुन्छ ।

च्याउको छाताले असामान्य वर्षालाई छेक्न सक्दैन
सर्पले फणा उठायो मात्र भने पनि
डराउनेहरू छँदैछन् अझै ।

‘गोरुगाडाका दिन गए
अब जेट चढनु पर्छ’;
पखेटा लाउँदैमा तर, गाडामा
उड्न सक्दैन ।

जरा नभएका विरुवा
सर्दैनन् माटोमा रोपे पनि
कागजका फूल बरू धेरै दिन टिक्न सक्लान् ।

अनुभवले बताएको छ
खडेरीमा मात्र हैन,
ज्यादा हौसिएको बोटबाट पनि अउँदैन बाली ।

अष्ठमीको बोको
टाउकामा पानी छर्किँदा
टाउको हल्लाउँछ ।
चलनको कुरो हो
मान्यताको कुरो हो
प्रथाको कुरो हो
उसले काटिन स्वीकृति दिएको हैन ।

सक्षम माझीले माछा मार्न पानीमा केप पड्काउँदैन ।

मेरो क्रान्तिको आग्रह
पानीलाई रातो पार्नु
पानीलाई तीतो पार्नु
पानीलाई धमिलो पार्नु
थिएन ।

यी नदीमा जो पानी बग्दैछन्
पानी नै रहन दिऔँ
रगत देख्दा मात्र रातो, राम्रो हो ।
भयानक हुन्छ,
आलो पनि
बासी पनि ।

रगतबाट चिया वा रक्सीको बास्ना आउँदैन,
किनभने रगत रगत हो
यो रातो राम्रो हुन्छ
तर विभत्स हुन्छ
कोत र भण्डारखालमा झैं
अफगानिस्तान, भियतनाम र युगोस्लाभीयामा जस्तै ।

फेन्टमले मेरो देशको बारेमा सोच्दैन
अमरसिँह र बलभद्र
जन्मिदैँनन् मेरो देशमा अब
बुद्ध पनि च्याप्टिए जस्तो छ, आन्दोलनमा ।

त्यसैले
सर्पहरूसँग नडराऔँ
सर्पहरू जहाँ पनि हुने गर्छन् ।

पुर्ने लाटो आत्तिरीले
बौलाहा बूढो जगल्टे सार्कीलाई
'भोक लाग्यो खान दे' भन्दा
जगल्टेले गुहार मागेथ्यो आकाशतिर फर्केर, साँझमा-
'हे भगवान ! यी जूनतारा खस्दैनन्
यो मोरो पक्कै पनि यी जगल्टा खाँदैन
म के गरूँ ?'

यो जगल्टे र पुर्नेको मात्र कथा हैन
पँधेरो पर्तिर
बाँस झ्याँङ मास्तिर
कुलोवारि
खोलापारि
बाटाछेउ
चौतारी मुन्तिरका
थुप्रै आमाछोराहरूको वास्तविकता पनि हो ।

सर्पहरू त हिँडिरहन्छन् रातभर
नडराऔँ सर्पसँग
यो कालो रातभरि हिँडिरहौँ
साहस लिएर ।

रात नकाटी दिन आउँदैन ।

हिँडनु पर्छ
क्षितिजपारिको चहलपहल
रातपारिको उज्यालो ल्याउन ।

कुनै चमत्कारको कल्पना नगरौँ
लठ्ठी लिएर हिँडौँ
सुरक्षा लिएर हिँडौँ
सर्पहरू त जहाँ पनि हुन्छन् ।