प्रत्येक साँझ
मेरो खटियामा
डङग्रङ्ग पल्टिन्छ
एउटा जिउँदो मृत्यु चारपाउ फालेर ।
कहिले भुसुक्कै सुत्छ
रात–दिन पक्का मुर्दाझैँ बनेर
कहिले जुरुक्कै उठ्छ
जीवन शाश्वत छ तर्सिएर
कहिले छटपटाउँछ
ओल्टेकोल्टे फर्किन्छ
आफैँसँग झर्किन्छ
कहिले आफैँसँग तर्किन्छ
र निखार्छ सिङ्गै उमेर
एउटा जिउँदो मृत्यु मेरो खटियामा पल्टिएर ।
बिहान–बिहानै धसिङ्गारे अनुहार
कचेरे आँखा
जिङ्ग्रिङ्ग केश
ख्याउटे, मरन्च्याँसे शरीर लिएर
निक्लन्छ गोरेटो–गाउँतिर
सडक–सहरतिर जीवन खोज्न ।
ऊ कहिले जीवनको नाम सोध्छ
कहिले जीवनको काम सोध्छ
कहिले जीवनको दाम सोध्छ
थकित घाम ढल्छ
हैरान फर्किन्छ फेरि ऊ
रित्तै बेउत्तर मैतिर
र मेरो खटियामा
पुनः डङरङ्ग पल्टिन्छ चारपाउ फालेर
भोलि फेरि जीवनको आशा लिएर
सधैँ–सधैँ एउटा मृत्यु ।