पिपलबोट / रमेश क्षितिज
गुँडतिर फर्किदै उडिरहेका छन् चराहरू
साँझको रङ्गीन आकाशमा
पारि घुम्तीमा टिङ् टिङ् घण्टी बजाउँदै
खुरले धूलो उडाउँदै गोरेटोमा
गोठ फर्किदैछन् गाईका बथानहरू
ध्यानस्थ कुनै ऋषिजस्तै– प्रतीक्षारत छौ तिमी पिपलको
बोटमुनि
यसरी पर्खिदा पर्खिदै अन्त्य हुनेछ जीवनको,
तिमी एउटा भायोलिन
पटक–पटक बजाउँनेछ मृत्युले सिकारु सङ्गीतकार भएर
सन्त्रासका खण्डित धुनहरू
गितार बजाएजस्तै
उसका क्रूर कठोर औलाहरू चल्नेछन्
तिम्रा रेशमी कपालका सुनौला तारहरूमा,
निथ्रुक्कै ! आँसुको राग बग्नेछ तिम्रा गालाहरू हुँदै
लोकलयजस्तो रुवाइको धुन फैलिनेछ यी हावाका
झोंक्काहरूमा
कसैले देख्नेछैन एकान्तको मृत्यु
चिच्याउँदा चिच्याउँदै तिम्रो प्रतिध्वनिमात्र बाँकी रहनेछ
यी कन्दरा र खोचहरूमा !
तिम्रो लासमाथि खस्नेछ पिपलको बीउ
र उम्रिनेछ एउटा बिरुवा
पिपलको बोटमुनि पर्खिदा पर्खिदै
तिमी आफै पिपल बन्नेछौ कुनै दिन !
थाह छैन तिमीले प्रेम गरेको त्यो निठुरी मान्छे
तिमीलाई भेट्न
फर्किएला नफर्किएला यो बाटो भएर
फर्केर पनि बिसाउला नबिसाउला तिम्रो छायामा !
चौतारीमा बसेर सोचिरहन्छु म
कुनै दिन
कसैलाई पर्खिरहेको मान्छे त थिएन यो पिपल ?