Last modified on 2 जुलाई 2020, at 15:06

आँशुको विस्फोट / शुभलक्ष्मी लम्साल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:06, 2 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= शुभलक्ष्मी लम्साल |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


कत्रो अलिखित तस्बिर बसेको थियो
कहिल्यै नमेटिने, नटुक्रिने
विश्वास थियो भगवानभन्दा धेरै

तिमी हाम्रो प्रिय राजनेता!
सम्झ त!
सत्य आवाजका साथ
सडकमा कोलाहल गर्दै
सँगसँगै लडेका हौं लडाइँ
उज्यालो घाम ल्याउन।

सधैंझैं वसन्त आइरहयो
पालुवाहरु फेरिए
तिम्रा रुपरंग, चाल ढाल फेरिए
फेरिएनन् हाम्रा रंगहरु
तिमी प्रिय नेता हुँदै
शासकमा परिवर्तन भयौ
हामी जनताबाट रैती भयौं
त्यही पनि गरेनौं शंका या गुनासो तिमीसँग
जसरी बच्चाले आमासँग गर्दैन।

तर यसबेला
अचम्मित छौं!
शीरमा राखेको तिमीले
हामीलाई पाउदान जति पनि सोचेनौ!
छियाछिया भएको छ मुटु
तिमीले थापेको
हाम्रै मृत्युुको हाट देखेर
मृत्युको हराभरा बजार देखेर।

चुपचाप हेरिहयौं हामीले
कसरी बिक्दो रहेछ जीवन?
कसरी किन्दा रहेछन् समवेदना?

कति सजिलो हुँदोरहेछ
शासकहरुको लागि मृत्युको व्यापार
बस! आँखामा प्रेम राख

बोलीमा सद्भाव भर
मुटुमा समानता देखाऊ
वास्तविक ह्रदय चाहिं ढुङ्गाकै बनाऊ
अलिअलि बहुलट्टीपन देखाऊ
कति सजिलो हुँदोरहेछ
कात्रोमाथि राजनीति गरेर
जनतालाई झुक्याउन
अमूल्य जीवनलाई
कीरा, माकुरा भन्दा तल सोच्न।

पत्याउन गारो छ शासकहरुसँग
यिनीहरु देश चलाइरहेका छन् कि?
मदिरा पसल?
जनताको आँशुले पोलिरहेको छ कि यिनलाई
या कलेजो ठण्ड्याउन
त्यही आँशुमा मदिरा घोलेर मनाइरहेका छन् उत्सव
पत्याउन गाह्रो छ!
साँच्चै! देश दुखिरहेको छ कि यिनलाई
या चुनावताका खर्च गरेको आफ्नै गोजी!

हेर्छु कति कति नाटक मञ्चन भएका?
ढोङ गरिरहेका हाम्रो चिन्तामा
क्रूर यमराजको खोलमा जनकहरु!
बजाइरहेछन् बाँसुरी कैयौं निरोहरु
सिङ्गो देशलाई चिहानघारी बनाउन
प्रपञ्च रच्छन्! लुई चौधौंहरु।

भयो! पख्नुस्! पख्नुस्!
जनताको धैर्यको काँध चढेर
शमशान घाटको बजारीकरण गरेर
आदेशको आडमा
मान्छेहरुलाई निर्धा र लाचार बनाएर
लाशको कालोबजारी गरेर
कति गर्नुहुन्छ चाण्डाल बनेर
आँशुकै तस्कर!
तपाइँलाई थाहा हुनुपर्ने हो-
लामो मौन शान्तिपछि
एउटा ठूलो विस्फोट हुनसक्छ!