भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वृक्ष-देश / सुदीप पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:35, 28 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रिन |अनुवादक= |संग्रह=द...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्रत्येक बिहान
मेरो सिरानी छेउ आएर
सुनाउथ्यो एउटा चरो
केही बिर्सिएको
केही सम्झिएको
यस्तै-यस्तै कथा

कहाँबाट आउथ्यो
किन आउथ्यो
कसरी आउथ्यो
हरेक बिहान नबिराई तर
नउठ्दै म
मेरै सिरानी छेउ बसेर
गाइरहन्थ्यो त्यो चरो
एउटा आफ्नै-आफ्नै जस्तै लाग्ने
केही बिर्सिएको
केही सम्झिएको
केही सम्झे-सम्झेजस्तो तर बिर्सिएको
केही बिर्सिए-बिर्सिएजस्तो तर सम्झिएको
त्यही कथा हरेक बिहान

यसरी—

"वृक्ष थियो
यही कही कतै

वृक्ष थियो
त्यो बर
पिपल
काभ्रा
शिरिस
या यस्तै-यस्तै केही

वृक्ष थियो
र थिए फल्दा-फुल्दा कैयौ रहरहरु त्यहाँ
जो उड्थे प्रत्येक बिहान झिसमिसेमै
साँझ नपर्दै तर फर्कन्थे फेरि जोडिन त्यही वृक्षमै
वृक्षमा पर्खिरहेका स-साना उनीहरुकै अनुहारका हुन्थे थुप्रै त्यस्तै रहरहरु

वृक्ष थियो
र थिए जिउँदा जाँग्दा थुप्रै सपनाहरु त्यहाँ
जो दौडँदै निस्कन्थे घाम ब्युँझदा नब्युँझदै
भाग्थे निकै पर-परसम्म आफुजस्तै रङ्गीन सपनाहरु पछ्याउँदै–पछ्याउँदै
फर्कन्थे तर फेरि वृक्षमै घाम नलुक्दै क्षितिजमा
वृक्षमा हुन्थे प्रतिक्षारत उनीहरुजस्तै अनगिन्ती स-साना सपनाहरु

वृक्ष थियो
र थियो इर्श्यालु हावा पनि
जो कोही अरु नै आई
उछिन्ला भन्ने ठानेर हो
या किन-किन ??
हुरिँदै आएर
वृक्षका शरिरमा
कहिले कोमल हाँगाहरु
कहिले सग्लै शरिर
त कहिले पत्ताहरु सुम्सुम्याएर हल्लाइरहन्थ्यो दिनरात

वृक्ष थियो
र थियो पठ्ठो झरी पनि
इत्रिँदै छिल्लिँदै
प्रत्येक बर्सातमा
भिजाइरहन्थ्यो उसको शरिर
र बनाउथ्यो उसलाई हरियो झन्-झन् हरियो

वृक्ष थियो
र थियो उसको हाँगामा जानी-जानी अड्किँदै जिस्कन आउने युवा घाम
र थिइन् घण्टौँ उसँगै बात मारिरहने लजालु सखी जून
र थिए उसका वरिपरि आएर जिस्किरहने जूनकिरी र जूनकिरीजस्ता ताराहरु पनि

आँखा लाग्यो
एकदिन
कसैको त्यो वृक्षमा
जान थाल्यो सुक्दै-सुक्दै
देखिन थाल्यो जर्जर उसको शरिर
खेल्न थाले त्यही शरिरमाथि पनि
वृक्षकै आफ्नैहरुले आएर एकपछि अर्को गरेर

कतै एउटा पत्ता अकालमै खस्थ्यो जब
दुखेर कहालिन्थ्यो वृक्ष नै
कतै एउटा हाँगा असमयमै झथ्र्यो हुन्हुनिएर
चुपचाप आँसु निल्थ्यो वृक्ष नै

खेल्न आउन छाडे हावा पनि त्यसपछि त
इत्रिन छाड्यो बर्सातले पनि
घाम नउदाउँदै निस्किएका रहरहरु
झुक्किएर पनि फर्किएनन् रात परेपछि फेरि उसको काखमा
उज्यालो नब्युँझदै त्यहाँबाट भागेका सपनाहरु
सम्झिएर ढिम्किन पनि आएनन् साँझमा उसको सँघारमा फेरि–फेरि

अब त छ
ढल्न-ढल्न आँटेको त्यो वृक्ष
र छ सुख्खा उराठलाग्दो वातावरण
र छ त सिर्फ वृक्षको आँखामा अटेसमटेस गरेर बसेको पानी
छ त सिर्फ वृक्षको गालाको खेत भिजेर छ्याप्छ्याप्ती
छ त सिर्फ एउटा आदिम नुनिलो पीडा वृक्षको जिब्रोमा

छैन कुनै पनि कुरा तर पहिलेजस्तो
छैन उसको पहिलेको मुस्कान जस्तो हँसिलो यो घाम
छैन हावामा शितलता पहिलेको उसको उच्छवासमा जतिको
वृक्षको छेउमै ओर्लेर भ्वाइलिन रेटिरहन्छ त्यो जून पनि
ब्लुज गुन्गुनाइरहन्छन् चराहरु अर्कै कुनै रुखको हाँगामा बसेर
र छ सँगसँगै ब्लुज गुन्गुनाइरहेको जर्जर त्यो वृक्ष स्वयँ

गीतमा ऊ गाइरहेछ
'नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई...'<ref>श्रद्धेय गायिका तारादेवीको गीत</ref>
सबै सबै सबै छोडेर जानेहरुलाई
पुकारिरहन्छ प्रत्येक दिन ऊ सधै यसरी नै ।"

जबदेखि घर फर्किइ आएको छुँ
तब देखि केही चिन्तित जस्तो छुँ म
कि देखेको छैन मैले त्यो चरालाई अचेल फेरि सपनामा
हेर्छु झस्किएर हरेक बिहान
खोज्छु सिरानीको वरिपरि सधैँजसो
भेट्दिन
निकै नै चिन्तित छु आजभोलि
कहाँ गयो होला ?
किन र कसरी पो हरायो होला ?
— त्यो चरो

कतै,
तपाईको सिरानी छेउ
आएर त गाउँदैन नि हगि ?

शब्दार्थ
<references/>