Last modified on 1 अगस्त 2020, at 21:29

गाउँमा कविताहरू १ / रेमिका थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:29, 1 अगस्त 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कति मसिना कुराहरू छन्
गाउँमा !
बर्खा भरि सिकसिको लाग्ने हिलोमा डुबिबसेको हुन्छ
गाउँ!
शिशिरभरि चिसा सिरेटामा
बूढा पातहरूसँगै
पल पल झरिबस्छ गाउँ !

चौडा हुनु नि एकाएक
फैलेर फराकिलो हुनु गाउँ
सुकिलो हुनु !

शौचालय शिशु शिक्षा केन्द्र
मिड डे मिल डिस्पेन्सरी र स्वास्थ्य जानकारीका
गोलमोल समस्यामा
घुमिबस्छ गाउँ।
अमिताभ बच्चन र शाहरुख खानले सुनाएको पोलियो खुराकको
कलात्मक सन्देशले पुग्दैन
थरी थरी पोलियोले ग्रस्त भइरहन्छ
गाउँ।

गाउँलाई सञ्चो छैन
एकक्षण पनि।
गर्भवती महिलाहरू हिड्नलाई
साँघुरो भएको गल्ली
परिवार नियोजनका अस्थायी साधनहरूका प्रचार प्रसार
इत्यादि मसिना पिरमा डुबिबस्छ गाउँ।

गाउँलाई अफ्ठ्यारो छ
गाउँमा अफ्ठ्याराहरू छन्।
तोरीबारीका महकभन्दा समस्याहरूका घाउ
तेज छन्।

टयाक्टरमा चढेर
नगीचै सहरको
ब्युटिपार्लर जान लागेका छन्
गाउँका एक हूल किशोरीहरू !