जल्न देऊ - बल्न देऊ! / सानुमति राई
अनल-शिखा
वेदनाको त्यो-
यो अथाह भूमण्डलमा,
बनी प्रचण्ड राप
जल्न देऊ - बल्न देऊ।
क्षण-क्षणमा
पल-पलमा
अशेष पीडाको तेज त्यो
तापमा-अझ पीड़ापूर्ण
बढ्न देऊ -बन्न देऊ।
शिथिलता तनको
निराशा प्राणको
पग-पगमा
ल्याउन देऊ - भर्न देऊ।
व्यथित मनको
रोदन वज्रले
आँधी -अन्धड़
ल्याए पनि
त्यो भत्भत् पोल्ने शिखालाई
निम्न नदेऊ-मेट्न नदेऊ।
दग्ध उरको,
बृहत् पृष्टको
दुःखद कथालाई
सल्कन देऊ
राख महत् बन्न देऊ।
उन्मत्त भई
दन्केको त्यो दावानलको
दग्ध शिखालाई –
शीतल ती अश्रुकणले
भिज्न नदेऊ - बग्न नदेऊ।
दन्दन् बलेको
अनन्त व्यथाको
अनन्त ज्वालालाई
अनन्तसम्मन्
अटल भएरै बस्न देऊ,
अमर ज्वाला बन्न देऊ।
यो यात्रामा नित्य यसरी
जल्दै-बल्दै
अन्त्यमा
अघि बढ्दै -भष्म हुँदै
यो पान्थलाई
त्यो ज्वालासित
ज्वाला बनी,
डढ्न देऊ - बल्न देऊ
खरानी शेष माटोमा मिल्न देऊ।