बन्दी / फरोग फारुख्जाद / सुमन पोखरेल
मलाई थाह छ,
म कहिल्यै पनि तिम्रो अँगालामा बेरिन पाउने छुइनँ।
तै पनि
म तिम्रो अँगालो खोज्दछु।
तिमी एउटा स्वच्छ, उज्यालो आकाश हौ।
म पिँजडाको कुनामा बसेकी एउटी बन्दी पक्षी
पिँजडाका चिसा, अँध्यारा प्वालबाट
लोभिएका विवश आँखाले तिमीलाई हेर्दछु।
तिम्रा हातहरू मसम्म आइपुगेका, र
मैले आफ्ना पँखेटा तिमीतिर फिँजाएको कल्पना गर्दछु।
यो पिँजडाको ढोका झुक्किएर खुलेको, र
म यो नीरव बन्धनबाट भागेर
मेरो कैदको यो पालेलाई जिस्क्याउँदै
तिम्रो अँगालामा बाँधिएर जीवन बिताएको
कल्पना गर्दछु,।
यो पिँजडाबाट निस्कने धृष्टता गर्न सक्दिनँ म
तै पनि,
म यस्तो कल्पना गर्छु।
मलाई थाह छ,
मेरो पालेले नै चाहे पनि
म यो पिँजडाबाट निस्किएँ भने
मलाई सास फेर्नका लागि चहिने बतास नै रहने छैन।
हरेक बिहान
पिँजडापछाडिबाट
एउटा बालकको हेराइ मेरो अनुहारसँग मुस्कुराउँछ।
मैले खुसीका गीत गाउन थाल्दानथाल्दै
उसका ओठहरू चुम्बन लिएर मतिर आउँछन्।
ए आकाश!
मैले कुनै दिन यस पिँजडाबाट निस्किएर उड्न चाहेँ भने
त्यस बालकका रुँदै गरेका आँखालाई के भनेर सम्झाउनू?
“मलाई बिर्सिदेऊ, म एक कैदी पक्षी हुँ,” भन्नु?
म आफ्नो हृदय जलाएको उज्यालोले
अरुलाई खुशी बाँड्ने
मैनबत्ति हुँ।
यदी म मौन अँध्यारो खोज्दै हिँड्न थालेँ भने
यो गुँड नै सखाप हुनेछ।