चित्रकलाको एउटा पाठ / निजार कब्बानी / सुमन पोखरेल
मेरो छोराले उसको रङको बट्टा मेराअगाडि राख्यो
र मसँग एउटा चराको चित्र बनाइमाग्यो।
मैले खराने रङमा कुची चोबेँ
र डण्डीहरू भएको र साँचो लागेको एउटा वर्ग बनाएँ।
उसका आँखा आश्चर्यले भरिए
"...तर यो त झ्यालखाना भयो, बुवा,
के तपाईँलाई चराको चित्र बनाउन आउँदैन?"
मैले भनेँ- "छोरा, मलाई क्षमा गर।
मैले बिर्सिसकेँछु चराको आकार।"
मेरो छोराले चित्रकलाको कापी मेराअगाडि राख्यो
र मसँग गहूँको बोटको चित्र बनाइमाग्यो।
मैले कलम समातेँ
र बन्दुकको चित्र बनाएँ।
लापरवाही देखेर खिज्यायो उसले मलाई,
र सोध्यो,
"बुवा,
के तपाईँ गहूँको बोट र बन्दुक पनि छुट्टयाउन सक्नुहन्न?
मैले भनेँ,
"छोरा, पहिले थाह थियो मलाई गहूँको बोटको आकार
रोटीको आकार थाह थियो
गुलाफका फूलको आकार थाह थियो।
तर यो कठीन समयमा
मिलिसियामा भर्ती भएका छन् जङ्गलका सबै रूखहरू
र लाटो थकानले निदाएका छन् गुलाफहरू
यो सशस्त्र गहूँका बोटको समयमा
सशस्त्र चराहरूको समयमा
सशस्त्र संस्कृतिको समयमा
र सशस्त्र धर्मको समयमा
तिमी एक टुक्रा त्यस्तो रोटी किन्न सक्नेछैनौ
जसभित्र बन्दुक नभएको होस्,
बगैँचाबाट कुनै त्यस्तो गुलाफ टिप्न सक्नेछैनौ तिमी
जसका काँडा तिम्रो अनुहार घोच्न तम्सिरहेका नहुन्,
तिमी त्यस्तो कुनै किताब किन्न सक्नेछैनौ
जो तिम्रा औँलाहरूमा पुगेर विस्फोट नहोस्।"
छोरो मेरो ओछ्यानको छेउमा बस्यो
र मसँग एउटा कविता सुनाइमाग्यो,
मेरा आँखाबाट आँशु निस्किएर मेरो सिरानीमा फालहाने।
मेरो छोराले त्यसलाई छाम्यो र छक्क परेर भन्यो-
"यो त आँशु हो, बुवा, कविता हैन!"
मैले भनेँ-
"छोरा जब तिमी ठूलो हुनेछौ
र अरबी कविताका सङ्ग्रहहरू पढ्नेछौ
शब्द र आँशु जुम्ल्याहा दाजुभाइ हुन् भन्ने थाह पाउनेछौ तिमीले,
अरबी कविता भनेका
लेखिरहने औँलाहरू रुँदा निस्किएका आँशुबाहेक अरू केही हैनन् भन्ने बुझ्नेछौ।"
मेरो छोराले कुची र रङहरूको बट्टा मेरा अगाडि राख्यो
र मसँग उसको मातृभूमिको चित्र बनाइमाग्यो।
मेरा हातमा थरथर काम्यो कुची
म क्षतविक्षत भएँ, र रोइरहेँ।