किन डराउँछौँ हामी शब्दसँग ?
तिनीहरूले त
सुवासित फूलका हातजस्तै भएर
हाम्रा गाला सुम्सुम्याउने गर्छन्,
आँटिलो बनाउने मदिराका प्याला भएर
तिर्खाएका हाम्रा ओठलाई तृप्त पार्ने गर्छन्।
किन डराउँछौँ हामी शब्दसँग?
ती कतिपय त अदृष्य हुन्छन् , सङ्गीतजस्ता
जसका प्रतिध्वनिहरू
स्वर्णिम बिहान उघार्दै
प्रेम र जीवनले निथ्रुक्कै भिजेर
हाम्रा सङ्कटग्रस्त बँचाइमा उद्घोष हुन आइपुग्ने गर्छन्।
तैपनि किन डराउँछौँ हामी शब्दसँग?
हामी मौनतामा आनन्द बोक्दछौँ।
चुप रहन्छौँ हामी,
गोपनीयताले हाम्रा ओठ खोलिदेला भन्ने डरले।
समयको कानका अक्षरहरूमा लुकी मुख छोपेर बसेको
अदृष्य भूत निदाएको हुन्छ शब्दमा
भन्ठान्छौँ हामी।
तिर्खाएका अक्षरलाई बाँधेर राख्छौँ हामी,
हामी तिनलाई हाम्रा विरुद्धमा रात फैल्याउनबाट रोक्छौँ
बहिरहेका धून, सपना र मदिराका मधुर प्यालाले सजाइएको कोठाजसरी।
किन डराउँछौँ हामी शब्दहरूसँग?
तीमध्ये कतिपय त अप्रतिम मीठासले भरिएका हुन्छन्
जसका अक्षरले दुई ओठका बीचबाट रहरहरूको शीतल छहारी दिन्छन्
र कतिपय
क्षणिक आनन्दमा रमाउँदै प्रहर्षित भएर
मातिएका दुई आँखाबाट हेल्लिइरहेका हुन्छन्।
हाम्रा गाला सुम्सुम्याउन बिस्तारै फर्किन्छन् हामीतिर
शब्द र कविताहरू।
तिनका रङ्गिन प्रतिध्वनिमा निदाएका हुन्छन्,
मौन प्रेम, र लुप्त पर्खाइहरू।
किन डराउँछौँ हामी शब्दसँग?
तिनका काँडाले हामीलाई कुनैबेला घोचेका भए पनि,
तिनीहरूले हामीलाई
गलाभरि आफ्ना अँगालामा बाँधेका पनि छन्
तिनका सुमधुर सुगन्धले हाम्रा रहरहरूलाई ओत दिएका पनि छन्।
तिनका अक्षरले हाम्रो हृदय चिरेका भए पनि
तिनले निर्ममतापूर्वक हाम्रो अनुहारै हेर्न छाडे पनि
भोली जीवनैजीवनले नुहाइदिने छन् तिनीहरूले हामीलाई ।
खन्याइदिने छन् हामीमाथि
दुई अङ्खोरा शब्द।
भोली हामी आफैँ बनाउनेछौँ, शब्दहरू जोडेर
अग्लो,
अक्षरहरूले झपक्क बेरेको सपनाको गुँड।
कविताले स्याहार्ने छौँ हामी त्यसका कोपिलाहरूलाई
र शब्दहरूले सिञ्चन गर्नेछौँ त्यसका फूलहरूलाई।
लज्जायुक्त सौन्दर्यका लागि एउटा बार्दली बनाउनेछौँ हामी
शब्दहरूको दलिन लगाएर।
र एउटा शान्त कोठा बनाउनेछौँ
स्निग्धताले रङ्गिएको
शब्दहरूले घेरिएको।
समर्पित गरेका छौँ आफ्नो जीवन
प्रार्थनाझैँ हामीले।
प्रार्थना कसको गर्छौँ हामी आखिर ? ... शब्दहरूको।