Last modified on 21 अगस्त 2020, at 21:26

भाइ / आद्याशा दास / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:26, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=आद्याशा दास |अनुवादक=सुमन पोखरेल...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

भाइ
एउटा शब्द, जसले
अस्तित्व प्रदान गर्दछ
सुनले कुँदिएकाभन्दा मूल्यवान सहस्र बिम्बहरूलाई।
 
मेरो बाल्यकालको खेल्ने साथी
कसैलाई थाह नदिएका भेटघाट, लुकाएका योजनाहरू
हराएका खेलहरू र इखका झगडाहरू
पढाउन आउनेसँग छुट्कारा पाउन गरिने जुक्तिहरू।
जाँचका लागि बालिने मध्यरातको तेल
बाँड्चुँड, एकअर्काको रेखदेख
र युद्धको घोषणा।
कहिल्यै सोचिएन, ती दिन उडेर जालन् भनेर।
बाल्यकाल त विशाल समुद्रमा उर्लिने छाल जस्तै रहेछ
के यसलाई बोकेर फर्काउन सक्छ कसैले?

त्यसपछि हुर्काइका ती उत्साही वर्षहरू
जस बीच ब्यूँझिएकी थिई मभित्रकी युवती
र लाठे पुरुषमा फेरिएको थियो एउटा फुच्चे भाइ।
ठूल्दिदीहरूसँग कानेखुसी गर्दै लिइएका सल्लाहहरू
हुनसक्ने अप्ठ्यारा देखाएर तर्साउँने कुटिल मुस्कानहरू
भेट्नका लागि गरिने शर्तहरू
साटासाट गरिने पाठ
र शीतयुद्ध भएर सकिने झगडाहरू।
एउटा मनमोहक मौषम आएरै छाड्थ्यो तर हरेकपल्ट
हिउँलाई पन्छाइदिन्थ्यो इन्द्रेनी मुस्कानले।

होस्टलमा रहँदाका सम्झनाका क्षणहरू
पहिलो पटकको हाम्रो अलग्याइ,
र म कवि हुनु, र

लेख्नु तिमीलाई लामालामा कविता
मीठामीठा सम्झनाहरूको
भत्केका खेलौना र पुतलीहरूको ।
 
र त्यसपछि तिमी
फर्किआयौ हाम्रो बगैँचाको सहनाइको स्वरमा
खोजिरह्यौ मेरो अनुहार
प्रत्युत्तरमा मुस्कुराई एउटी प्रफुल्ल बेहुली।

अन्माउने बेलासम्म
हेर्नुपर्ने थियो पाहुनाहरूलाई
बेहुला र जन्तीहरूलाई।
रुँदै गरेका स्त्रीहरूको भीडबाट
निस्कियौ तिमी
समात्यौ र अन्मायौ मलाई
मेरो सुरक्षित जस्केलोबाट
मेरो नयाँ जीवनतिर।

सँगसँगै जस्तो रह्यौ तिमी वर्षौँसम्म
र साक्षी रह्यौ नयाँ बन्दोबस्तको
मेरा प्राथमिकताहरूको ।
त्यस्तै हुनेरहेछ जीवन
राखीको दिन हो आज
हुन त सधैँ मसँगै हुन्छौ तिमी
तर यस्ता दिनहरूले फुकाइदिन्छन् भावनालाई
नियमित चटारोहरूबाट निस्कनका लागि
र सम्झनका लागि ।
 
तिमी जहाँसुकै गए पनि
जतिसुकै फेरिए पनि
मेरो बालक भाइ नै रहिरहनेछौ सधैँ
मलाई खुशी बनाउने, मेरो शक्ति
मेरो सहोदर भाइ।