Last modified on 23 अगस्त 2020, at 20:53

गङ्गाको अवरोहण / डी.आर. बेन्द्रे / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:53, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=डी.आर. बेन्द्रे |अनुवादक=सुमन पोख...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!
तपश्वी शिवको गुजुल्टिएको जटाबाट,
कुनै ऋषिको जाँघबाट,
हरिको पैतालाबाट,
आऊ, चिप्लिँदै आऊ।
ईश्वर र परेमश्वरहरूलाई तृप्प पारेर आऊ,
ब्रह्माण्डका कुनाकुनालाई परास्त गरेर आऊ,
दृष्य-अदृष्य सबै प्राणीहरूलाई खुवाएर आऊ,
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!

म आफूलाई तिम्रा लागि तम्तयार राख्नेछु,
म तिमीलाई पहिरिने छु ।
किन अल्झिएकी तिमी?
उँधो झर्दै आऊ,
आऊ, स्वर्गलाई छोडेर,
आऊ, समतलमा बहँदै आऊ,
आऊ, जमिन काट्दै आऊ,
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!

मेरो टाउकाभित्र,
मेरो पिठ्यूँका पछाडि,
भित्र र तलबाट,
बेतोडले आऊ,
मेरा आँखामा भएका सबै धूलालाई पखालेर,
मेरो श्वासको डोरीलाई घेरेर
मैले छरेका शब्दलाई उमारेर,
उल्लासका साथ आऊ,
आऊ, मेरो हृदयमा बस्ने गरी आऊ,
अमृत भएर,
वास्तविक धरतीमा बाँच्दै
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!

आऊ, बिजुली चम्काउँदै,
आऊ, भएभएरका चिजलाई पानीमा मिसाउँदै,
आऊ, मर्किँदै, बाङ्गिँदै, घुम्दै,
राहत दिन
दयनीय हतभागीहरूलाई
बुढिँदै गएकाहरूलाई, कमजोरहरूलाई
पानी नपाएका माछाहरूलाई।
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!

आऊ, सानालाई माया गर्ने हृदयजसरी,
निर्दोषहरूलाई तृप्त नहोउन्जेल माया गर्ने हृदयजसरी,
आऊ, देदीप्यमान भएर फूल फक्रिए जसरी,
आऊ, नगवेली भएर!
शिवको प्रथम अनुकम्पाजसरी आऊ,
घामका उज्यालोको दाग लागाए पनि
स्नेहका फूल फुलाए पनि
ओर्लिँदै उँधो आऊ
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!

यहाँका कसैले हाम्रो मैलो धोइदिँदैनन्,
अरू शक्ति वर्जित छन्, आऊ।
म अनुनय गर्छु, आउनैपर्छ, आऊ,
हाम्रा नशालाई छेडेर, भित्र बग्दै आऊ,
एकछत्त घुम धरतीमा, आऊ,
मरेकालाई ज्यूँदाउँदै, आऊ !

दिव्य सपनालाई प्रतिविम्वित गर्छ
उत्साहले भरिएको तिम्रो कञ्चन पानीले!
एउटा शूरवीर नारीजसरी आऊ, आकाशभन्दा माथि उठ्ने गरी
तर पृथ्वीमा झर्नका लागि मात्र!

ताराजस्ता फूल,
लक्ष्मीको घर कमल, र स्वर्गमा बस्ने पारिजात सँगै,
आऊ, तुलसीको बोटले पूजा गर्न योग्य भएर आऊ
मन्दराको सुवासले भरिएर ।

माता र पिता दुवै तिमी नै हौ,
जीवनशक्ति निर्माण गर्ने विधाता तिमी नै हौ,
चेतना र आनन्दलाई सङ्गम-शक्ति दिलाउने तिमी नै हौ ।

आऊ, र कम से कम एकपल्ट आफैँ हेर,
हामीले आँशुको वहावलाई बाँध बाँध्नुपर्छ कि!
म यस अवरोहणलाई एउटा अवतार मान्छु,
पूरा भएको एउटा प्रतिज्ञा,
संस्कारी नुहाइले पखालिएको प्रेम,
पूर्णाताको एक आगमन,
अशान्त र उग्र,
आऊ, बलपूर्वक आफ्नो बाटो बनाउँदै
आऊ, तिम्रा सन्तानलाई खोज्दै
माता, खोज्दै आऊ,
आऊ, बलपूर्वक आफ्नो बाटो बनाउँदै
हात धोएर आऊ
अवतार लिएर आऊ,
माता, पृथ्वीमा ओर्ल,
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!

आऊ,
शम्भू, शिव र हरको
तीनै अवतारको चेतनामा बसेर आऊ,
आऊ, दत्त नरहरीलाई स्पर्श गर्न
कवि अम्बिकातनयादत्तमा आऊ
आऊ, माता, ओर्लँदै आऊ,
आऊ ओर्लँदै!