Last modified on 23 अगस्त 2020, at 21:23

अन्तिम शब्द / जयन्त कैकिनी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:23, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=जयन्त कैकिनी |अनुवादक=सुमन पोखरे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अन्तै कतै हेर्दैछ कविताको अन्तिम शब्दले
झ्यालतिरको सिटमा बसेको बालकले झै,
भित्र र बाहिर दुबैतिर भएर ।

कोही भन्छन् सबै थोक टुङ्गिन्छ त्यहाँ
वा सबै शुरू हुन्छ - अन्तिम शब्दबाटै
के कुनै कवितालाई टुङ्गयाउनु साँच्चै असम्भव छ।
कठोर बनाउनुपर्छ आफूलाई र बढ्नुपर्छ अगाडि
पर्वतारोहीहरूको जसरी
छोडेर हिँड्न नसक्ने साथीहरूलाई ।

भाडामा लिएका शब्दहरूलाई
चुपचाप आफ्नो काम गर्न दिनु ठीक हुन्छ।
लामो दूरी पार गरेका छन् तिनले
जिब्रामा,
नयाँ सपनामा पुराना घुमाउरा बाटा देखेका छन् तिनले ।
इनारमा खसेको गाग्री जसरी
बन्दै छन् तिनीहरू युगौपछि अहिले फेरि मष्तिस्कमा ।

कोही एक्कासी भेट्टाउँछन् शब्दलाई
निर्जन तटमा साँझले टल्काएरको शिपी देखेजसरी
अथवा खेल मैदानमा हराएको
बालकको जुत्तामा
भोलीपल्ट हिँड्दहिँड्दै ठोक्किएरजसरी।

फोहर फाल्ने ठाउँमा बिर्सिएको टुहुरो, ऐनाले जसरी
इसारा गर्छन् तिनले तिमीलाई
निहुरिएर त्यसमा आफ्नो अनुहार हेर्नका लागि,
र कुनैले हातबाट खुस्किएको बिस्कुट
चियाको कपमा डुबेर फुल्दै पीँधमा पुगेर
ढाडिएर तिमीलाई तर्साएझैँ।
 
भाग्य बिग्रेका शब्दहरू मात्र टिपिइन्छन्
कविताको शीर्षकको रूपमा
अपराधीको गलामा झुन्डिएको
नम्बर लेखिएको प्लेकार्ड जसरी ।

क्षणिक भ्रमको निर्वाण प्राप्त गर्दछन्
बिरालाको चालले चुपचाप हिँड्ने र
आफूलाई कविताको बीचमा कुँदेर राख्ने शब्दहरूले।
सजिलै पत्ता लगाउन सकिन्छ तिनलाई, र
बाँधिएका पनि हुँदैनन् तिनीहरू
अर्को पङ्क्तिमा डुबुल्की लगाउनैपर्छ भन्ने कुनै नियममा।
र तिनले आफ्ना गोडा भाँचे नै भने पनि
हत्पत चित्कार निस्कन सक्दैन
शब्दविहीन मौनताको खल्डोबाट।

र कसको हो यो कविता?
कविको त हैन पक्कै पनि
नत्रभने उसले यसरी बीच बजारमा
परित्याग गर्ने थिएन यसलाई ।

तर हेर,
पहिलोपल्ट स्कूल जादाँ मृत्युसँग जस्तै डराएको
एउटा जिद्दी बालकले जसरी
कर्के नजरले हेर्दै गरेको कविताको अन्तिम शब्दले
आफ्ना साना दुई हातले थिचेर
कसरी निमोठेको छ कविताको गला !