Last modified on 23 अगस्त 2020, at 21:38

अतीत / एम. गोपालकृष्ण अडिगा / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:38, 23 अगस्त 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तिनीहरू मेरो सम्झनामा आइरहन्छन्, अतीतका रहस्यमयी भ्रूणहरू;
पुरिएको बूढो इनारको बासी हावा
लोरी गाउने सूर्यकिरणलाई डोरी झैँ बाट्दै
चार हातपाउ टेकेर घस्रिँदै उठ्छ
र तुलसीको बोटतिर हान्निन्छ ।

डन्ठीबाट खुस्किएको नाल र
मुसाको चुँडिएको पुच्छर छटपटाउँछ।
जब म अँध्यारामा च्याउँदै छामछाम छुमछुम गर्छु
एक्कासी सुनौलो धातुको एक हरफ
र नवचन्द्रको अँध्यारो खाल्डोमा सङघर्षरत
पखेटा जलेको एउटा तारा चम्किन्छ ।


आजका पत्रिकाहरू अतीतमा खबरले भरिएका छन्।
एक भाग पानी माथि र सात भाग मुनितिर।
आइसबर्ग एकाएक
ज्वालामय शब्द-विष्फोटक हिउँले छोपिएको निर्दोष ज्वालामूखी बन्छ ।
यद्यपी, पत्रिकाहरू बन्द छन्,
नीरव खोक्रा अस्थिपञ्जरहरूको भीड लाग्छ कोठामा,
गोडा पछाडिपट्टी फर्किएका, मूक इसारा गर्दै।
आकाशको उभिइरहेको पानीमा
शुक्रकीटहरू आफ्नो लक्ष्य खोज्दै दौडिन्छन् ।
अँध्यारो मञ्चको पर्दापछाडि
चम्किरहेका शब्दहरू आफ्नो सङ्केतको प्रतिक्षा गर्छन् ।
के तिनीहरूलाई रङ्गिन रुखबाहिर वरिपरिको बहिरहेको हावालाई छुने इच्छा जाग्दैन?


घरविहीन पुर्खाहरू हावामा यताउता भौँतारिेइरहे
कहाँ अवतार लिने भन्ने थाहै नपाई।
मलाई थाह छ, भूतलाई खेद्ने मन्त्र,
तर मैले तिनीहरूलाई दैवी बनाउने मन्त्र बिर्सेँ।
म बिना अर्थ जादूको छडी घुमाइरहन्छु।
हामीले पुरोहितको विश्वास गर्‍यौँ, र पश्चिमतिर फर्कियौँ।
कम से कम अब त हामीले आफ्नो प्राचीन विद्यालाई भित्रसम्म खन्नुपर्छ ।

खन्दा खेरी, माटो भ्रूण अवस्थाको हुन्छ ।
कोदालो र खन्तिले निक्कै तलसम्म खनेपछि
चम्किरहेको सुनौला धातु देखिन सक्छ।
त्यसलाई झिकेर, पगालेर, शुद्ध पारेर
कम से कम अब हामीले सिक्नैपर्छ
तिनलाई हाम्रा आफ्ना व्यक्तिगत ईश्वरको अनुहार र रूपमा ढाल्न ।


इनारभित्रको सकिँदै गएको पानी वाफ भएर उड्छ;
आकाश त्यसको कर्मस्थल बन्छ।
बादलको अँध्यारो गर्भमा नदेखिएका थोपा
नौ महिना पर्खिने भ्रूणजस्तै हुन्।
किनभने, वर्षा भन्नु बाफको अतीतपनको अहिलेको रूप हो ।
 
खेतबारीलाई धान र अरू अन्नपातका लागि तयार गरौँ
तिनलाई सुन्दर बगैँचा बनाऔँ;
मन्दिरका गजुरहरू आफैँ सुनका हुनेछन् ।