प्रतिबन्ध / आर. तारिणी शुभदायिन / सुमन पोखरेल
१
लेख्न प्रतिबन्ध गरे मलाई
केही असर गरेन,
म हठीलाई त्यसले
मेरा नाडीमा हिर्काए
सुन्दर हरफहरू भएर निस्किए
दुखाइहरू
धेरै कुटेपछि
लखतरान भयो पुलिस
र करायो, “कतिपल्ट भनिसकेँ मैले?
तँ, धृष्टलाई”
उसको लाठीको धूनसँग स्वर मिलाउँदै
मथेको दूधबाट नौनी निस्किएझै
निस्किए मेरा शब्द।
नचटपटाई उभिइरहेँ म ।
२
कति धेरै गाह्रो
आफू आमा नहुन मलाई
चिरपरिचित थियो मेरो बालक
र मानेन दूध छुटाउन ।
पुतना झैँ हुनका लागि
आफ्ना थूनमा मैले
नीमका पातको लेप लगाएँ
तितेकरेलाको रस लगाएँ।
तर के गरेथे कृष्णले?
कुनै बाँसुरीबाट लय चुसेझैँ
चुसिरहे उनले स्तनलाई र
अनन्तको सङ्गीतमा परिवर्तित गरे
सम्पूर्ण मीठासलाई ।
३
कहिल्यै बाँङ्गिँदैन
जरा गाडिएको रुख
बरू त्यो गाडिँदै जान्छ
जमिनमुनि तलसम्म ।
सजिलै ढाल्न सकिँदैन
धरतीको जगले संरक्षण गरेकालाई।