हिँड्दै छौ कि बस्यौ कतै ! / माधवप्रसाद घिमिरे
फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर हेर्छ झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर
कोठा शून्य छ यो, उठीकन अहो ! बाटो कहाँको लियौ तिर्खाएर पियौ कहाँ जल, यहाँ गाग्री भरेकी थियौ टाढाको कुन छहारीमनि बसी सम्झेर के के गयौ दौडायो कुन दूरदेश विधिले, एक्लै कसोरी गयौ
हिँड्दै छौ कि बस्यौ कतै, मुलुक त्यो कस्तो छ, यस्तै छकि त्यो छायामय लोकबाट कहिल्यै यो लोक देखिन्छ कि छन् तिम्रा मुखमा अझै बिफरका बुट्टा कि कस्ती भयौ स्वप्नामा जुन आउँछ्यौ, भन त्यही सम्झूँ कि भिन्नै भयौ
लागेको मनमा छ के भन त्यहाँ हास्छ्यौ कसोरी तिमी सम्झी शान्ति र कान्ति दूधकटुवा रुन्छ्यौ कि क्यारे तिमी दिन्नन् फर्कन फेरि बिर्सन पनि, द्यौताहरु निठ्ठुर त्यो एकै छिनको मात्र बिछुडले कत्रो महा–अन्तर !
हामी छौँ सुखमा कि आज दुःखमा के भन्नु के भन्नु ख्वै आफैँ मर्न सकिन्न, बाँच्नु कसरी, के गर्नु के गर्नु ख्वै छौ देवी सुखमा भने यदि त्यहाँ हामी रुँदैनौ यहाँ हाम्रै साथ थियौ कुनै दिन भनी सम्झेर बस्छौँ यहाँ
बाँचुन्जेल सकेँ र गर्न अब के सक्नेछु गर्नै म हे चाँडै नै सँगिनी ! गयौ नि मनका इच्छा मनैमा रहे बाँचुन्जेल त चिन्न नै सकिनँ हे जाहान ! जे भन्दछ्यौ गाढा आज हुँदो छ प्रेम, जति नै टाढा तिमी बन्दछ्यौ
लीलाले कहिलेकहीँ त भुइँमा ओर्लेर आऊ तिमी नौला मानिस खेत चौर हरिया हेरेर जाऊ तिमी आऊ शान्ति र कान्तिमा अमृतको देऊ नयाँ चुम्बन आऊ यो मनमा पसेर सहजै लेऊ नयाँ जीवन
तिम्रा गीत म फाँट शैल वनका एक्लासमा गाउँला आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला हुर्काईकन शान्ति कान्ति भुइँमा छाडी त्यहाँ आउँला देवी ! अन्तिम साँझमा गहभरी आँसू लिई आउँला
</poem>