ए मौन निशाका तारा हो ! 
शून्य गगनमा, निर्जन क्षणमा 
अन्धकारको बाक्लो वनमा 
बत्ती बाली झिम्झिम गर्छौ 
कोसित गर्न इशारा हो, 
ए मौन निशाका तारा हो ! 
चम्किरहेछौ टाढा-टाढा 
रङ-रङका इच्छाझै गाढा 
सम्झना ली कसतिर ताक्छौ 
कोसित गर्न पुकारा हो ? 
ए मौन निशाका तारा हो ! 
सुतिरहेछन् दुनियाँ सारा 
शब्द, चाल क्यै छैन सहारा 
रात-रातभर जागा रहँदै 
कुनै प्रतीक्षा राखी जिउँदै 
ताकिरहेछौ कसकन हेरी 
यसरी जल्दै प्यारा हो ? 
ए मौन निशाका तारा हो ! 
ए एकान्ती साथी मेरा 
आऊ, ओर्ल्ह, ओर्ल्ह यहाँ तल 
वेदनाको अनुभव पोखौं 
आँसु चुहाई एकछिन रोऔँ 
सपना कहेला मनमा भित्री 
नोंद उघारी प्यारा हो ! 
ए मौन निशाका तारा हो ! 
................................................
शारदा, १३६, मार्ग २००४