रोदन (श्लोक १३३ देखि १४३) / नरेन्द्रप्रसाद कुमाईँ
(१३३)
व्यथित दृगमा निद्रै छैन,
सपना कहाँबाट त्यो हुन्छ?
स्वप्नबिनाको नीरस जीवन
सुखमा हाँस्छ न दुःखमा रून्छ ।
(१३४)
अश्रुरूप यी मुक्ता दाना
टिप्ता तिमी यदि सुखी हुन्छौ त;
अविरल मुक्ता वर्षा गर्छ
प्यारले सब ती तिमी लिन्छौ त ।
(१३५)
मेरो लघु हृदयाकाशमा
प्रकाश तिम्रो भिन्नै एक छ;
सहस्र तारक-दलको बीचमा
पूर्ण-चन्द्रझै खुलीरहेछ ।
(१३६)
दुःखमय मेरो प्रणय-कहानी
गहभरी जल लिई नयन कहन्छ;
किन्तु निर्मम निठुरी जगमा
पुकार हाई ! कसले सुन्छ?
(१३७)
कविझै भित्री चैनमा मस्त-
विरही म पनि बनीरहेछु;
दुःखको खल्बलभित्रै सुखको
अस्फूट गीत म सुनीरहेछु ।
(१३८)
कंटकमय जीवन-तहमा
पलपल आज म खसीरहेछु;
आँधी बनीकन आऊ उठाऊ
तिनै आशमा बसीरहेछु ।
(१३९)
तिमी नहुँदा हृदय शून्य भो,
जीवन एउटा भार बन्यो यो;
साथमा सारा जग छ तै पनि
तिमीबिना यो विश्व शून्य भो ।
(१४०)
शीतल-सुरभि समीरण सुस्त,
पुनर्मिलनको कथा कहन्छ;
मधुऋतुको कलिरूप पत्रले
‘निश्चय प्रिया आउँछिन्’ भन्छ ।
(१४१)
विरह-व्यथाको काँडाभित्र
प्रेमको फूल हाँसिरहोस्;
विरह औ प्रेम दुईको नाता
‘सत्य’ सँधै यो गाँसिरहोस् ।
(१४२)
साँचिरहेको चिरदिनदेखि
मेरो पावन प्रेम प्रिये ! यो,
सारा अर्पण गर्छ प्रेयसि !
मिलन भएको दिनमा हाम्रो ।
(१४३)
आशाभिलाषा केवल एक छ –
मनमा मेरो रहीरहेछ;
अन्तिम दर्शन तिम्रो गर्न
तनमा जीवन अडीरहेछ ।