Last modified on 6 मई 2021, at 08:59

कसरी गाऊँ म गीत / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:59, 6 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कसरी गाऊँ म गीत, जीवनको मातै नपिई
गाउन पो भन्यौ मलाई, मातिने मौकै नदिई

रिक्तताले भरिएको एक दूरी छ बीचमा
आकृति नै अदृष्य छ, अनुभूति माझमा
भर्न अझै बाँकी नै छ, मन छ पूरै खाली
कसरी गाऊँ म गीत, प्रेमको मातै नपिई
गाउन पो भन्यौ मलाई, मातिने मौकै नदिई

उठाउँछ मलाई र फेरि मलाई लडाउँछ
चोट दिन्छ उहीनै र फेरि उही फकाउँछ
चिनेकै छैन, दुनियाँलाई प्रेमी हो या जाली
कसरी गाऊँ म गीत, भोगाइको मातै नपिई
गाउन पो भन्यौ मलाई, मातिने मौकै नदिई

म उम्कन खोज्दछु, जन्जालले समाउँछ
साधनामा डुबूँ भन्छु, मोहले अल्झाउँछ
गरूँ भक्ति कसरी, लिएर रित्तो मनको थाली
कसरी गाऊँ म गीत, ईश्वरको मातै नपिई
गाउन पो भन्यौ मलाई, मातिने मौकै नदिई