Last modified on 24 मई 2021, at 11:17

सहृदय वेश्याको प्रेममा / अभय श्रेष्ठ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:17, 24 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अभय श्रेष्ठ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मैले उसलाई गरेको प्रेम
श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन ।

जस्तो कि तपाईँलाई थाहा छ–
मेरुदण्ड दान गर्ने दधिचिझैँ
यो देशको हरेक परिवर्तनमा
आफ्नो जवानीको
एक अंश दान गरेको
साधारण मानिस हुँ म
जिन्दगीका सहस्र घुच्चीका लेकहरूमा पनि
इमान र नैतिकता
सुरक्षित राखेको छु मैले आफ्नो मुटुजस्तै ।

तर, कहाँ के बिग्रियो ?
मेरै रगतले सिँचिएको यो देश आज
चाँदीका आँखा जडेर मलाई नदेखेझैँ गर्छ ।

त्यस्तो के भयो ?
झ्यालिन्चा र लाखेको लुकामारीजस्तो
यही परिवर्तन
छल गरेर मलाई आज बेग्लै आँखाले हेर्छ
सबभन्दा छिटो दौडेर
गन्तव्यमा सबभन्दा ढिलो पुग्ने धावकझैँ
म कहाँ अलमलिएँ ?
मलाई एक्ल्याएर
सबभन्दा बढी आनन्दित हुन्छन् आज मेरै सहयात्री ।

ज–जसलाई हृदय तप्काएर
प्रतिच्छायाँझैँ मैले प्रेम गरेँ
ज–जसलाई खोला तार्न
बुढो माझीझैँ मैले आफ्नो पिठ्युलाई पुल बनाएँ
ज–जसलाई विश्वास गरेर
करियाझैँ मैले आफूलाई फुटबलको मैदान बनाएँ
ज–जसलाई आदर्श मानेर
सूतपुत्रझैँ मैले तिनको लडाइँमा रगत दिएँ
तिनैले निमोठे मेरो गर्धन
तिनैले भाँचिदिए मेरा हातपाउ
उचालेर मेरो हृदयमा आत्महीनता
सु¥र्याए तिनैले मलाई आत्महत्या गर्न ।

आज किन यो देश उल्टो पिरामिडझैँ
उभिएको छ टाउकाले टेकेर ?

पक्कै पाटपूर्जा नमिलेको मेसिनझैँ
यो देशको स्वास्थ्यमा भइरहेछ ठूलै गडबडी
पक्कै यो परिवर्तनमा कहीँकतै केही नमिलेकै छ ।

र, आज काठमान्डुको फोक्सोमा थुप्रने फोहोरझैँ
मेरा वरिपरि
यति धेरै भङ्गालाहरू छन्
यति धेरै अन्यायहरू छन् कि
लाग्छ, तिनलाई पन्छाउन
अब एउटा सिस्टम ढल्नैपर्छ ।

जस्तो कि धेरै मान्छे
फुटेर झ¥यामझुरुम कसीझैँ
भएका छन् धरासायी
फाल हालेर निराशाको तलाउमा
भएका छन् कति खतरनाक हत्यारा
वा कति हिँडेका छन् आत्मघाती यात्रामा
धूपछायाँझैँ यस्तो अनिँदो आत्महीनताको वातावरणमा पनि
तपाईँले चाहेजस्तो फाल्न सक्दिनँ म हातखुट्टा
निर्जन वनमा एकलव्यझैँ
अझै सङ्घर्षमा छु म
किनभने मेरा रक्षाकवच हुन् नैतिकता र इमान ।

मान्छेलाई आत्मसम्मानसाथ
बाँच्न दिने कुनै कुरा छ भने
त्यो माकुराको ममताझैँ निष्पाप प्रेम हो
यस्तो अनिँदो आत्महीनताको वातावरणमा पनि
म बाँचेँ आत्मसम्मानसाथ
एउटी विद्रोही युवतीको
निःस्वार्थ प्रेममा
जो तपाईँको दृष्टिमा एउटी पतित वेश्या हो ।

(कुनै पनि युवती
त्यसै हुँदैनन् वेश्या
तपाईँ मान्नुस्, नमान्नुस्, हरेक वेश्या
अन्धो सत्ताको नाकमा प्रहार गर्ने
एक अनुपम विद्रोही हो ।)

तपाईँ आफै भन्नुस्,
इमानको यस्तो खतरनाक मसानघाटमा
एउटी सहृदय वेश्यालाई छाडेर
तपाईँ कसलाई भेट्नुहुन्छ प्रेमको सत्पात्र ?

एउटी सहृदय वेश्याको प्रेममा परेर
म सोच्दैछु–
जुन विन्दुमा विघटित हुन्छ इमान
त्यही विन्दुमा धसिन्छ क्रान्तिको रथ ।

जहाँ हरेक स्वाभिमानी मान्छे
अपमानित छ सूतपुत्र कर्णजस्तै
जहाँ हरेक सही मान्छे
खतरामा छ मूपात्रजस्तै,
ए सुन, मेरो देशका महान् स्वप्नद्रष्टा,
जिन्दगीमा कहिल्यै बेइमान नभएको एउटा युवक,
एक सहृदय वेश्यासँगको
प्रेमको विन्दुबाटै
गर्न चाहन्छ सम्बन्धहरूको विनिर्माण
हो, त्यही विन्दुबाटै
गर्न चाहन्छ सहस्र क्षेप्यास्त्रहरूको सञ्चय
र, ढाल्न चाहन्छ
मकाएको काठझैँ त्यहाँ चलिरहेको एउटा व्यवस्था ।