जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन्
आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन्
हतार पैसा अहँकार र आत्मालापहरुले थाकेको संसारसित के माग्नु थियो र तिमीले
माया र मोहको त्यान्द्रोमा अल्झिबसेको उमेर चुँडाइदिएर बरु
यद्यपि माटोबाट उठेर माटोमै बिलाइदिनुको निर्णय तिम्रो होइन
यो त सांसारिकताले कपेको अविजित नियम हो सायद
जसलाई स्वीकारेरै जन्मिनुदेखि यताको यात्रा तय भयो तिम्रो
क्षणक्षणमा तप्किने आँखाहरुले जीवनको त्यो रीक्तता देख्तैन मुटुको त्यो घाउ देख्तैन
त्यसो त घाउ र रीक्तताबिना पनि जीवनका अहर्निश उत्सवहरुमा रमाउनेहरु छन्
तर ती सबभन्दामाथि उठ्दै बोध र अनुभूतिको मर्ममा तिम्रो सम्झना दुख्छ
आत्मकेन्द्रित व्यक्तिको रुपमा आफ्नै परिचय बाँटिहिँड्दा मैले
तिम्रो सङ्घर्षका अथक स्मृतिहरु कति रोए होलान् नेपथ्यमा
अनि जब तिमीले माफ गरिदिन्छौ तिम्रै सन्तानको मूर्खतालाई संसारको मोहलाई
त्यही माफीको सुगन्धले तिमीलाई सगौरव आमा बनाउँछ
अनि हामी आफ्नै अज्ञानताहरुको मोहमा छोराछोरी भइरहन्छौं
बाटाहरु छन् अझै तिमीले हिंडेका कान्ला डील र राँटोहरु पनि त्यस्तै छन्
ए नी तिम्रो अनुपस्थितिमा बित्ने अजस्र उत्सवहरुको व्यंग कति छन्
त्यसरी रगडिनुको एकालापले त तिम्रा सरीरका हड्डी र मासीहरु खिइँदै जानु थियो
गरिबीको वाद्यताले आफूभित्र बाफिएर पोलिरहने सङ्कल्पको आवेगलाई
सङ्घर्षले जोतिरह्यौ आफ्नै सन्तानको कर्महरुमा फलेको हेर्नलाई
खै कहाँ कति सन्तोकको बाली भो तिम्रा उठाउने हातहरु निरुत्तर छन् सधैँ
अपितु तिमीलाई हेरेरै संसारले जान्न पायो कि बाँच्नलाई हाड र मासुको
निरोगले भन्दा पनि मनभित्र कुँदिएको आवेगले बढी उर्जा दिन्छ भनी
संसारलाई तिमीले दिनचाहेको योभन्दा अव्वल उपहार के हुनसक्थ्यो र
सास चुँडिनु के थियो आफ्नै सन्तानका सम्वेदनाहरुबाट तिमी अवाक भयौ
अस्पताल र चिहानसम्मको दुरीभित्र तिम्रो निरुत्तरताले हजार उत्तरहरु बोल्यो होला
सम्वेदनाहरु जो दोस्रो व्यक्तिसम्म पुग्दा नपुग्दै पत्रु बनिसकेको हुन्छ
जसलाई बोध गर्न पनि त्यही आगोमै पोलिएर दुःख्नपर्ने हुन्छ
त्यै सम्वेदनाहरुकै रगरगीमा तिम्रो अन्त्येष्टिको उत्सव मनाए मलामीहरुले
तिम्रो कोख तिम्रो दूध तिम्रो लालनपालन र तिम्रो आशिर्वादले जग्जगिएका सन्तानसित
अब तिम्रो अनुपस्थितिका घाउहरु बोध गर्ने बोधो मर्महरु मात्र बाँचेका छन्
तापनि कहीं अँध्यारोमा कहीं शून्यतामा तिम्रो अभाव दुखिरहने
एक जोर आँखाहरुले सधैँ तिमीलाई आँखाको नानीमै सजाइराख्ल
जीवनको चैत बैशाखमा पनि अमेट सम्झनाको हरियाली बनाइराख्ला।।
.........................................................................................
(सिलगढीको नर्थ बेङ्गाल क्लिनिकमा सात दिनसम्म अचेत रही गत ११ नोभेम्बर २००९को साँझ निधन भएकी मेरी आमा स्वर्गीय गौमाया राईको सम्झनामा)