टाशीलिङ / प्रवीण राई 'जुमेली'
कुनै एक अकिन्चन आकाशमुनि
एक रुमानी बस्ती छ
फाइलहरुको.
बस्ती-
जहाँ बीरे, धने, मनमाया र टाशीहरु
कुनै अधिसूचना, स्मारक-पत्र वा प्रस्तावित कानुनहरुमा
अनुवाद भएका छन.
आफूलाई बन्धक राखी गरिएका वाचाहरूको
सेख छ फाइलहरुमा.
फाइल- जसले उसको गति कछुवासित पैंचो माग्यो
जसले गोहीसित आँशु साट्यो.
चकोर आँखाहरुले सजल आस्थाका स्वर्णपुतलीहरु
पठाएका थिए
विष-पुरुषहरुको आखेटक घातहरुमा चिथ्रा बने.
निश्चय त्यो कुनै तन्द्राको गजल थियो
गुनगुनायो- ‘यो बस्ती त तिम्रै हो, ए नि लै लै
यो बस्ती त तिम्रै हो’.
कोदालो चलाउने हत्केलाको पसिनाभन्दा
करिडरहरुमा बग्ने अत्तर र टेलकम पाउडरहरुको संगीत लयात्मक छ
प्रथम वर्षाको गन्ध कस्तो हुन्छ राजै, प्रथम वर्षाको गन्ध
सयकडौं बस्तीहरुबाट जीवन खोज्न परदेसिएका आकृतिहरु
त्यहि निर्वासित बस्तीका नागरिक बने
विस्मृतिको गोधुलीमा अरु बस्तीहरु लोप भए.
फेरी कहीं अर्को एउटा कोलाज
चकोर अनुहारहरुको
प्रतिक्षा र तन्द्राका तूलिकाघातहरु ठाडो-तेर्सो
दृष्टिले चिर्न नसक्ने अन्धकारमा क्षितिज उक्लिँदै
आउने सम्भावना पर्खेर
सूर्योदयको.
कहाँ हरायो नीलिमा? –सोध्छन् स्वप्निल लिलिपुटहरु
च्यात्दै आकाशले दिएको रुबाइयात
फेरी वर्षा रोकिन्छ
फेरी पातहरु झर्न लाग्छन्
फेरी बतासमा ईश्वर मरेको खबर फैलिन्छ.
................................................
टाशीलिङ = सिक्किमको सचिवालय