भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साथी / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:17, 11 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

१. मेरो दिलमा गहीरो, गहीरो घाउ छ
न कुनै मेरा डाक्टर छन्, न मेरो कुनै भाउ छ।

२. रगतबाट रसाएर, चुहिएर आएको मेरो तातो पसीनाको
नूनिलो धाराद्वारा यो चाउरिएका बूढा पहाडका मुहारमा
परेझै मेरा मुख नीला, गहिरा खोंच, खाडी परेको कसैले देखेन
एक कविले पनि यसको चित्र लेखेन !
सब देख्छन् सुनौला बादल, अमृत--जून
म सुकेको खस्रो जिभ्रोले वडवानलको आँच
चाखिरहेछु थोपा थोपा आफ्नै रगतका नून, नून ।
हाड मकाएको मकाएको वेदना, आन्द्रा चुडिएको पीडा मेरो छ
मेरो छ भारी-सबको पूँजी,
मेरो परिश्रम-अरूको मह,
मेरा बच्चा पहेँला अरूका राता पीरा
अरूको गाला स्याउ छ मेरो मुख एउटा हाउ छ !
घमण्डी भूँडेहरूले नाक फर्काएर, चक्कूको धारजस्तो
अपमानले चरक्क चिरेको कलेजाको मेरो खाडल
पुरिने छैन, कहिल्यै पुरिने छैन,
वज्रले चिरिएको चट्टान रातो धर्सो परेको एक पाउ छ
नानी, एक पाउ छ ।
तिमी जेसुकै फलाक, ए ढ्वाँग-नेता, म सुन्दिनँ
मेरो मुख एक हाउ छ
मेरो कलेजामा गहीरो, गहीरो, रातो धाउ छ ।

३. मेरा आँखा छैनन्, म अँध्यारामा छु- धन अन्धकारमा नानी !
मेरा कान छैनन्, मेरा नाक, मेरो छाला त्यो मत्यामको
कुम्भकर्ण-हड्डीलाई दुनियाले पयरले पिसेर चकनाचूर बनाएको
खडखडे धूलोझैँ खस्रोमस्रो छ,
मेरा आँसु हज्जार तिनाउ छन्, हज्जार भँगाला, हज्जार धार ।
जब राकस कारखानाले सल्सलाउँदा रेशम ओकल्छन् र डकार्छन्
के म तिनको रीस नगरूँ ?
जब कविले तारीफको पुल बाँधेको त्यो कडा
पूँजीपतिको चाँदी थुपारेको जस्तो क्रूर हिमालले म र मेरा थाङ्ने,
चिथरे, सिँगाने, लूलखुट्टी, पहेँलपाते, जुम्रे हिँहिँ-बच्चा र मलाई
भोटे सियोको करोडन संख्याले रोप्छ, गोध्छ, सुइरन्छ, झिरल्छ र पिरल्छ
के म नशरापूँ ती कलियुगी धरापहरूलाई जसलाई
ठूलाका रंगीचंगी महल र दरबार भन्दछन्,
जब बाङखुरे तारामण्डल श्याउले मेरो झुप्रालाई
उत्तरी बतासको भीमसेनले फू गरेर, खेलेर भताभुङ्ग ढालिदिन्छ ?
मेरो मुटुमा घाउ नलागोस् त्यस बेला
जब मेरा भोका तडपँदा बच्चाहरूले
त्यो सेतो, सलक्क परेको, गोल गोल मधुको पोको
जस्तो रसगुल्ला धनीको स्वाँठे, चिप्लो,
बेपरिश्रमी ओडारले निष्प्रयत्न-सलक्क निलेर मुख मिठ्याएको देखेर
अभागी खप्परका दुबै खाइलभरभर लाचारीका जल निल्छन् ?
लाखाँ पहाड चिरिए, पहिरो गए- तिनीहरू खडे छन्,
अझ कृष्णागण्डकीको जल-तूफानउपर पनि सानोतिनो नाउ छ।
तर म ढल्न लागेँ, म बल्ल लागेँ, म जल्न लागेँ
मेरो आँशुमा डुङ्गा छैन, यसलाई तर्ने के नाउ छ ?
आह, मेरो जीवनलाई खाने को राहु छ ?
म त्यसैलाई मार्न हिँडिरहेछु, त्यसैलाई मार्ने मेरो दाड छ ।
फर्कनँ साथी, फर्कनँ, तिमी जति भन म अब फर्कनँ
यहाँ छातीको भाँचिएको करङ्भित्र एक सर्वकालीन रातो
ताजा घाउ छ, साथी, घाउ छ !
यसको मलम त्यही राहुको रगत, त्यसैको मासु चन्दन,
त्यसैको बोसाको पट्टी,
साथी, त्यही मलम खोज्न गएँ, गएँ, गएँ, अब म फर्कन्नँ
तिमीलाई चाख छैन यस कुरामा किनकि तिम्रो गालामा स्याउ छ,
साथी, तर यो कलिलो मासुको मुटु र कलेजामा मेरा चाहिनी
वज्रले ताछेको चट्टान एक पाउ छ, साथी !
.............................................
भारती, ५|३, भदौ २०१०