Last modified on 12 फ़रवरी 2022, at 17:20

मेरो छोरो / सिद्धिचरण श्रेष्ठ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:20, 12 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सिद्धिचरण श्रेष्ठ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

यो मेरो छोरो
महाकालको दुलोमा अनन्तको पुच्छर –
अघिल्लो हिस्सा थाह नभएको
लामो शृङ्खलाको एक छेउ –
महाकाशमा हल्लिरहेछ
अनगिन्ति पिंढीको खापाखापको माथिल्लो तहमा
रहस्यको अन्तिम संस्करण निस्किरहेछ !

विशाल उथल-पुथल, प्रलय, आँधी, गर्जन-तर्जन
मृत्युको भट्टामा पोलेर निर्माण भएको
सुन्दर सुकुमार मूर्ति
यो मेरो छोरो।
हृदयको रस भरी
सपनाको बिउ छरी
मेरो स्वास्नी र मैले मिली जन्माएको बिरुवा
शून्यबाट उठिरहेछ
यो मेरो छोरो।

काँचको चुराको टुक्रा
कोटमा हालेर यो धनी भहरहेछ
प्वाँखको कल्की ढल्काएर
नरकटको घोडा चढेर लडाइँ जितिरहेछ
फूलको तक्मा बाँडिरहेछ
हाँसोमा, छरितोपनमा सरर सरर बहिरहेछ ।
जतिसुकै जीवन-तरुलाई ढाल्दै
दुःखको समुद्रमा धकेल्दै
जस्तै कालो नैराश्य हरी चलिरहोस्
अज्ञान भनिने महाज्ञानको ढाल लाएर
हाँसिरहन्छ यो मेरो छोरा।

"ए बाबू, संसार त्यसो होइन,
शोक, शंका, कलह, छटपट, चिन्ता, विरह
आदिले परिपूर्ण छ।"-
भनेर म सम्झाउँछु ।
उ हाँसिदिन्छ मेरो नासमझमा।
म जंगिएर भन्छु– “ए लाटो, ए मूर्ख,
देख्दैनस् संसार?"
मेरो अन्धोपनभा ऊ रोइदिन्छ ।
आमाचाहिँ आउँछे,
उसको अंकमाल-अमृतकुण्डमा नुहाएर फेरि ताजा बन्छ,
भर्खर पानी थामेको वेलाको गुलाफको फूलझैँ
सुखको घाममा हाँसिदिन्छ –
यो मेरो छोरो ।

हाँसी फूल,
रोई मोती
झारी झारी सौन्दर्यसृष्टि गर्दै
सच्चिदानन्द परमात्मालाई डोर्‍याउँदै हिँडिरहेछ -
यो मेरो छोरो।

.........................................
शारदा, १४।१० माघ २००५