भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मानिस छैनन् / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:22, 12 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

स्वर सुकाई कराउँदा पनि कसैले दैलो खोल्न आएन
कति घच्घच्याउँदा पनि कसैले प्रत्युत्तरसम्म दिएन
खोल्ने भए खोल नत्र दैलो फोर्न धम्मी दिँदा पनि केही लागेन,
भन्दै यो जाडो रातमा तिमीहरू पर्खिरहेको पनि धेरै भइसक्यो।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौला “ती रंगीचंगी लुगा लाई
नक्कझक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन् त ?"
म भन्छु म “तिनीहरू ता पुतली हुन् पुतली,
पुतलीहरूले पनि कहीँ तिमीहरूको क्रन्दन सुन्छन् ?"
तिमी भनौला “हामी रुँदा कराउँदा हरर हाँसेर ल्याउने
ती गोरा काला ठिटाहरू को हुन् त ?”
म भन्छु "ती मुर्दा हुन् मुर्दा,
तिनीहरूको हाँसो मुर्दा जलेको चर्चराहटमात्र हो ।
कहीँ जलेको मुर्दाले पनि तिमीहरूको आवाजको उत्तर दिन सक्छन् र ?'
तिमी भनौला "जय पशुपति, गुह्येश्वरी, तारेमाम
भन्दै अन्तरिक्षलाई धुने ती को हुन् त ?"
कानमा सिउरो, बुद्धिमा ताला लगाएका ती यन्त्र हुन्,
यन्त्रले पनि कही मानिसको आवाज बुझ्छन्
भनेको मान, त्यहाँ मानिस नै छैन, छैन छैन,
धम्की, क्रनन्दनमात्र होइन, गएर दैलो नै फोर,
माथि उक्ल, कसैले तिमीलाई यसो किन गर्‍यौ पनि भन्न आउनेछैन ।
त्यहाँ मानिस नै भएको भए साबगाँसरहित भई
तिमीहरूले यो जाडो रात यसरी काट्नपर्ने नै थिएन ।

.........................................
शारदा, २१|३, आषाढ २०१३