भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लब्धे बौलाहा / लक्ष्मीनन्दन चालिसे

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:17, 12 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीनन्दन चालिसे |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

                                १
आली छन् अनगिन्ति खालि नगरी लाइन्छ बाली पनी
हालिन्छन् मल झारपात अरु ती फाली उखेली खनी
बाँधी बाँध कुला खुला सँग हुली पानी भरी बेसरी
खेती गर्छ किसान सान मनमा राखी महीनौँ भरी ॥
                                २
झुप्रो हालि पराल बालि सुकुलै खाली बिछ्यौना गरी
खुशीसाथ रुखा सुखा जति मिल्यो खाएर त्यै खर्खरी
बुच्चो गोल्फु चिलिम् जुगानजुगको हुक्का नली टुर्टुरे
थोत्रो भत्भुत भश्मधारि खबटो फीगूटको थर्थरे ।।
                                ३
कोदाली अनमोल नोल गहिरो मान्‍रे ठुलो खर्पन
खास्टोदेखि सिवाय साथि सँगमा केही नराखीकन
कीरा रोग मुसा खडेरि र चरो साँढे हुरी जे जति
लाग्छन्, गर्छ बचाउ तो सकलको अल्सी नमानी रती।।
                                ४
जागा भैकन कुछ पाक्तछ जसै काटी जलेली चुटी
धोक्रामा भरिपूर्ण गर्छ गनदै पाथी र माना मुठी
ओसारी घरमा लगेर टलसिङ्-बोटी पृथक् राख्तछ
खानानिम्ति जहान हेरि जतिले पुग्नेछ सो झिक्तछ ।।
                                ५
पर्छन् चाड र पर्व फेरि उनका खातीर थन्क्याउँछ
साहूको यदि व्याज तिर्नुछ भने लौ ले भनी आउँछ
जो लत्ता कपडा र नून मसला चाहिन्छ त्यो के गरी
टार्ने हो उसका निमित्त पनि क्यै राख्नै पर्‍यो खिर्खिरी ॥
                                ६
यस्ता कैयन भीडभाड छिचली बाँकी रहेको जति
बिक्री गर्न लग्यो बजारबिचमा कस्छन् उनैले कति
जो पैसा उसबाट आउँछ लिई फर्केर आयो घर
खाँचै देख्छ जताततै अझ ठुलो फैलिन्छ चिन्ता-ज्वर ॥
                                ७
यस्त रीत गरी किसानहरुको ग्रुज्रन्छ सारा जुनी
कैल्हे शान्ति र चैनसाथ उनको जाग्दैन घर्मा धुनी
यस्तो हाल किसानतर्फ छ उता गोदाम हुन्छन् खडा
बन्छन् सेठ र साहु त्यो जिनिसका मालीक अ बडा ।।
                                ८
लुट्नासम्म नफा लुटेर तिनले बेच्छन धनी त्यै पनी
सस्तो या महगो नराखि परबा किन्छन् र खान्छन् अनि
जो हुन् मध्यम नीच श्रेणिहरुका मानीस ती आखिर
चुसिन्छन् किनिखाइसक्नु नभई पाएर सारै पिर ।।
                                ९
हाहाकार उठेर आउँछ तिनैदेखिन् जस देशमा
निस्कन्छन् अनि बेइमान ठगहा लुच्चादिका भेषमा
बेईमानि ठगाइँको जब चल्यो भर्मार मुद्दा परे
लेखी नालिस गै अदालतविषे लुच्चाहरूले दरे ।।
                                १०
केही जोर चलेन आजित भई निर्धो बिचैमा मर्‍यो
जाली झेलि फटाहलाइ सहजै पौवाह्र आईपर्‍यो
पिट्तै छाति गएर दाखिल भए बाटो बथानीकन
सर्कार्‌को पनि खिन्न भो गरिबको देखी बिचल्ली मन ।।

                                ११
यस्तो भो किन लौ अदालतमहाँ बेकाइदा के भयो
भन्नानिम्ति प्रबन्ध फेरि उसका खातीर गर्नपर्‍यो
जाली झेलि भने कडा जति गर्‍यो बढ्दै गए झन् उति
सीधा साध भएर मात्र नहुने भैगो सबैको स्थिति ।।
                                १२
यस्तो यो विषम स्थिति प्रतिदिनै बढ्दै गएमा अब
को नि:स्वार्थ बनेर कम्मर कसी छोडेर चिन्ता सब
आाफ्नो देश र जातिको गरुँ भनी सेवा गरोस् उद्यम
यस्ता मानिस आज देश भरमा होलान् बहूतै कम ।।
                                १३
मूलैदेखि विचार यो गरिलिँदा आखीर यौटा यही
हाम्रो उन्नतिमा रुकावट ठूलो देखिन्छ जाहाँ तहीं
जो छन् नीच र मध्यम स्थितिमहाँ राम्रो सहाराविना
लट्केका तिनको सुधार नभई गल्दैन कैल्हे पिना।
                                १४
तस्मात् मध्यम नीच यी दुइथरी मानीसका निम्तिमा
बेकारी हटने र काम मिलने कोही तरीका नयाँ
निस्कोस् ता कति बेर लाग्‌छ हुनमा हाम्रो स्वयं उन्नति
मिल्ला दीन किसानलाइ पसिनाको मूल्य फेरी कति ॥
                                १५
प्यारा पाठकवर्गबाट यसमा राम्रो विचारीकन
हो यो सत्य कुरो भने सब मिली त्यस्तो छ जुक्ती कुन
फर्माई अहिले हितार्थ सबको उद्योगका पृष्टमा
झल्काइदिनुहुन्छ की भनि नुही गर्छू म यै प्रार्थना ।।
.........................................
उद्योग, ३|६, २५ पौष १९९५