युगवाणी / लेखनाथ पौड्याल
प्रिय नेपाली शूरवीर हो, नवयुगको यो संक्रान्ति-
समय छ, यसमा नचढोस् तिमिमा फूट वैरको भ्रान्ति !
एकै तन भै एकै मन भै देश-कालको गति जानी
बढ्दै जाऊ, चढ्दै जाऊ, भन्दछ यो युगवाणी ।
तोड्यौ हुकुमी साङला, फाल्यौ फयाडला खड्गनिशाना
झ्याङला काटयौ सब मर्जीका, बदल्यो स्थिति र जमाना
अब तिमि नै छौ सेवक, तिमि नै मालिक, यो पहिचानी
लाग निरन्तर देशोन्नतिमा भन्दछ यो युगवाणी ।
दुःशासनले केश खिचेको द्रुपदकुमारीजस्ती
दुःख दर्दको विकट दल्दलमा बिचरी पलपल फैस्ती
जन्मभूमिका सुनीनशक्ना लम्बा करुण कहानी
सुन्दै जाऊ, गन्दै जाऊ, भन्दछ यो युगवाणी ।
गर्नैपर्दछ अब तिमि सबले नव राष्ट्रको निर्माण
यसमा तिलभर नहट पछाडी, चाहे जानोस् प्राण
वीर देशका वीर तिमी छौ वीरखतका अभिमानी
नझुकोस् तिम्रो वीरपताका, भन्दछ यो युगवाणी ।
हिमगिरितटका सब बासिन्दा तिमि दुनियाँ छौ कोटि
एकमती भै हात बढाऊ कर्तव्यमा दुइ कोटि
फुट्टाफूट्टै दूर देशमा कुल्लीगिरि वा दरबानी
गर्दा गर्दै जनम नजाओस्, भन्दछ यो युगवाणी ।
जुन तागतले एक शताब्दीतक सब यो नेपाल
रगत शुकाई जर्जर नंगा पायो नरकंकाल
उसको छाया छाप उडाऊ नगरी आनाकानी
भर अब अर्कै दिव्य जवानी, भन्दछ यो युगवाणी ।
भरखर जननी जन्मभूमिका तोड्यौ साङला सिक्री
औषधको नै पहिले इनको गर्नु पर्दछ फिक्री
यस मौकामा केहि नशोची पछिको लाभ र हानि
किन खलबलिने ? किन अलमलिने ? भन्दछ यो युगवाणी ।
राजा रैती एकमतो भै ल्याएथ्यौं त्यो क्रान्ति
अब सब बदली क्रान्ति -लहर ती ल्याउनुपर्दछ शान्ति
त्यसका लागी बारिक मनले छानी दूध र पानी
कर्मयोगमा बन सहयोगी, भन्दछ यो युगवाणी ।
अडबे खडबे डाँडा काँडा तोडी फोडी सारा
संथर पारी उसमा झारी झन का जलधारा
पार सबैतिर लहलह खेती, शुक्न नपानोस् पानी
मुलुकै सुखमय बन्दछ त्यसले, भन्दछ यो युगवाणी ।
पूर्व र पश्चिम उत्तर दक्षिण रस्ता निस्कून् खासा
रेल र मोटर तिनमा दौडून् बस्नूनपरोस् वासा
घर घर बिजुली, कल, कार्खाना, कपडा, अन्न र पानी
इच्छामाफिक सबले पाऊन्, भन्दछ यो युगवाणी ।
गामैपिच्छे शिक्षा पाउन् लाखन बाल बाला
कुनै कुनामा घुस्न नपानोस् गरिबीपनको ज्वाला
सबका घर घर डबल डबल होस् व्ययभन्दा आम्दानी
धर्म सनातन तव पो रहला, भन्दछ यो युगवाणी ।
उच्च हिमाचल सेती गाई, तल उपपर्वत-माला
थूनसरी छन् दूध-बराबर - रत्न' अनेक उज्याला
दुहनैपर्दछ ती सब तिमिले किसिम किसिमका खानी
तब पो रहला तिम्रो पानी, भन्दछ यो युगवाणी ।
अहिले अग्ला दश-पाठोटा रंगमहलमा खाली
चहलपहलका साथ निरन्तर खेल्दछ जो खुशियाली
त्यो सव झप्रा झुप्राहरूमा ल्याउनुपर्दछ तानी
नत्र भयो के ? दुःख गयो के ? भन्दछ यो युगवाणी ।