मैले लेख्नै सकिन, वानीरा ! / इन्दिरा प्रसाई
हिमालको काखमा बिसाएको
खरसाङको आँगनीबाट
पलायन भएकी
पाशुपत शङकरको अँगालोमा
थपक्क सुहाएकी ए वानीरा !
सङघर्षको गीत गुन्गुनाउँदै
ससक्त भएर कर्मयात्रामा
अविश्रान्त डटेकी ए वानीरा !
तिमीलाई नै साक्षी राखेर
यसबेला म एउटा दुस्साहस गर्न खोज्दैछु
ए वानीरा ! यसबेला म
तिमी नै तिमी लेख्न खोज्दैछु ।
स्वाभीमानी शिर बोकेर
अन्यायका बिरुद्ध हुङकार गर्दै
अगपङ्क्तिमा उभिने
विसङगतिका हलाहल पान गर्दै
नीलकण्ठ स्वरुपमा उभिने
ए वानीरा ! यसबेला म
तिमी नै तिमी लेख्न खोज्दैछु ।
मलाई यो पनि थाहा छ
एउटा लेख्नै नसकिने
महाकथा हो वानीरा
एउटा लेखेरै नसकिने
अनन्त इतिहास हो वानीरा
बुझेजस्तो लाग्ने
तर बुझ्नै नसकिने
भेटेजस्तो लाग्ने
तर भेट्नै नसकिने
छोएजस्तो पनि लाग्ने
तर छुनै नसकिने
सुखदुक्खको गीत हो वानीरा
जीवनको सत्यगाथा हो वानीरा
मायाको अमर छायाँ हो वानीरा
पुगेकै भान हुने
तर कहिल्यै पुग्न नसकिने
महाशिखर हो वानीरा
तर पनि ए वानीरा !
म तिमी लेख्ने साहस गर्दैछु ।
म वानीरा लेख्ने प्रयास गर्दैछु ।
पहाडको फेदिमा उभिएर
चुलिएकी वानीरा खोज्दैछु
म ए वानीरा !
शिखर आरोही त्रि्रो यात्रा पहिल्याउन
पहिलो पाइला चाल्दैछु म ए वानीरा
छचल्किंदो पोखरीको डीलमा उभिएर
संवेदनाको गहिराई नाप्ने प्रयत्न गर्दैछु
म ए वानीरा !
तिमीले उभ्याएको
स्वाभिमानको अग्लो पर्खालभित्र चिहाउने
अनवरत प्रयत्न पनि गर्दैछु म
ए वानीरा !
पीडाको अपार सागर हो वानीरा
आत्मसम्मानले अक्कासिएको शिखर हो वानीरा
सबैले बुझेझैं लाग्ने
तर कसैले कहिल्यै बुझ्नै नसक्ने
पाग्भाषा हो वानीरा !
आफैंले आफ्नो छाति छामेर त हेर
मुटुको ढुकढुकी हो वानीरा
कलमरुपी शक्तिशाली औजारले
कालरात्रि मास्न कुर्लने
अथक साधक हो वानीरा
चेतनाको ज्योति र्छन
अहोरात्रीको तपस्यामा लिन
गृहस्थाश्रमकी योगी हो वानीरा
जसले देख्न सक्छ उसका लागि
आँखाको ज्योति हो वानीरा
वैचारिक अन्धकार चिर्दै फैलिने
जाज्वल्य स्वरुप हो वानीरा
सँधै उज्यालो मुहार बोकेर
सबैतिर मुस्कान वाँडी हिंडे पनि
छातीको अथाह वेदना हो वानीरा
नेपाली भाषा साहित्याकाशकी
कहिल्यै अस्त नहुने
जूनतारा हो वानीरा
आआपनो ब्रम्हभित्र गहिरिएर त हेर
विश्व नारी रत्न हो वानीरा ।
ए वानीरा !
कति लेख्न खोजें
तर लेखेजस्तो मात्र भयौ वानीरा !
म के भनौं र साथी
तिमी त लेखौला वानीरा
तर मैले त कहिल्यै लेख्न सकिन वानीरा
म त कहिल्यै लेख्न पनि सक्तिन वानीरा