भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भोलिको बाटो / गण्डकीपुत्र

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:54, 25 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गण्डकीपुत्र |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

खै कता कताबाट लखेटिंदै
कता कताबाट भाग्दै
अन्जान हुण्डरीको चक्रव्युहमा फस्दै
आफ्ना आस्थाका भगवान
आफ्नै पोल्टामा बोकेर
हामी भेला भएका छौं
यो भूमिलाई
ओत लाग्ने चौतारो बनाएर |

हामी आएका छौं आफ्ना आफ्ना
पीडाबाट प्रताडित कथा बोकेर
कोहि आयौं आफ्नो माया
कालीखोलाको पानीभन्दा
सङ्लो छोडेर
कोहि आयौं बर्न नदिको
छातीभित्र अटल बाँचिरहेको
ढुंगाजस्तै गरुङ्गो मन लिएर
कोहि अरुण र तम्मरलाई
आफ्नो दुःखको गीत गाउन दिएर
उस्कै लय समातेर
रुदैं उक्लिएका हौंला |

जहाजका अप्ठ्यारा भर्याङ्गहरु
माटोको माया उस्तै थियो
उस्तै बास्ना आउँथ्यो होला
हावामा मिसिएको पसिनाको सुवास
मझेरीमा बज्ने हातका चुरा
पँधेरामा गाउने मारुनी गीत
गुम्बाको ॐमनी पेमेहुँ
उस्तै थिए होलान्
साम्ची ,दागाना
तेह्रथुम र दैलेखका
सेल रोटि र महि पार्ने ठेकी !

हामीले लगाएको सिरको टोपी
मायालुलाई प्रेमले ओढाई दिएको बर्को
हाम्रो बाजेले बोकेको च्याब्रुङ
हाम्रो आप्पाले आमालाई माया लाउँदा
बजाएको डम्फु
उस्तै थियो होला गीतको भाका पनि
डम्फुलाई माथी चरी हेर
चरीलाई नहेर मलाई हेर !

उस्तै तालमा बज्थ्यो
देउसीको मादल
त्यसरीनै गाउँथे भैलिनीहरु
त्यसरी नै रमाउथ्यो
बिबाहको सहनाई
त्यसरी नै छुट्थ्यो हाँसोको रेलगाडी
रत्तेउलीमा रमाउने आमाहरुको |

एउटै थियो मुटु
भूगोल एउटै थियो
काटिदियो सिमानाले
र मात्र अलग भएको हौं हामी
वीरताको गाथा उस्तै छ
खुकुरीको कथा उही छ
मात्र फेरिन खोजेका छौं हामी !

यो एक्काइसौं शताब्दीको
सङ्घारमा उभिएर के सोच्दैछौं हामी
के भोलि हामीले हिड्ने बाटो
एउटै होइन र
एउटै होइन र भविष्यमा ताप्नुपर्ने
अमेरिकाको तातो घाम !