मनबाट झिकी वेदना कागजमा समेट्ने गर्दछु
आजकल आफ्ना घाउमा आफैँ टेक्ने गर्दछु
चोट लिएर तिनले, मलाई राहत दिने गर्दछन्
मेरा व्यथा यिनै मेरा गजललाई बेच्ने गर्दछु
मलाई पीडा दिँदा अपेक्षा नगर चित्कारको
धैर्यले, साहसले, मौनताले घाउ सेक्ने गर्दछु
रङ्गविहीन देखिँदा हुन् भावना मेरा तर
हरेक अक्षर मुटुको रगतले लेख्ने गर्दछु
हृदयको डाह त्यसै छोडी लेख्दोछ नठान्नू
मेरा जलनमा यी शब्दको मलम लेप्ने गर्दछु
फेरिदियो मेरो अनुहार प्रेमको असरले
ऐना हेर्दा अचेल तिम्रो मुहार देख्ने गर्दछु
तिमी त्यति टाढा हुँदा यति धेरै छटपटी भो
मानौँ यहाँ हरपल म मृत्युसँग खेल्ने गर्दछु
ऐना हेर्दा आफू हैन तिमीलाई देख्छु घरिघरी
लजाउली तिमी भनी आफ्नै आँखा छेक्ने गर्दछु
जतिसुकै टाढा जाऊ, रिसाएर मसँग तिमी
मेरा हरेक सपनामा तिमीलाई भेट्ने गर्दछु
जहाँ गए जता गए पनि आउनेछ याद मेरो
तिमीलाई म चारै प्रहर सम्झनाले घेर्ने गर्दछु
मनमा बसेर तिमी मेरो मनकी रानी भयौ
त्यसैले त अह्राएको जेसुकै टेर्ने गर्दछु
कठिन रैछ उचालिराख्न जीवनको भारलाई
बाँच्दै मर्दै, मर्दै बाँच्दै म काँध फेर्ने गर्दछु
आइरहन्छन् अनेक बाधा जिन्दगीको यात्राभरी
कँज्याउँछु भूईँचालोलाई, आँधीलाई ठेल्ने गर्दछु
रातदिन केको व्यस्तता नसोध् मलाई सुमन !
मनले भूल्न नसकेको एउटा नाम मेट्ने गर्दछु