वारिपारिबाट खुम्चिएर रात अब यो शहरमा ओर्लेको छ
कालो थाङ्नालाई पानीमा भिजाएर निचरेजस्तै चुठुवामा, रात अब भरिएको छ
झ्यालहरूबाट पटापट गुलुबका आँखाहरू सडकमा ओर्लेका छन्
पाइतालाहरू र केही मोटरहरूमा सडकहरू स्वयम् घिस्सिएका छन्
थुनिन सक्दैनन् कि कतै उज्यालाहरू एक्लो कोठामा गुलुब भएर
बाँधिन सक्दैनन् कि कतै उज्याला मनहरू एक्लै कोठामा अँध्यारो भएर
ओर्लिदिऊँझैँ लाग्छ अनन्तसम्म सारा यो भन्ज्याङ्हरू नाघेर
च्यातिदिऊँझैँ लाग्छ यी रातका पर्दाहरू ढकमक्क फक्रिएको एउटा पूर्णिमा सजाएर
बिना मलजल अनन्त जराहरू गाडेर शहरभरि रात लहलह पलाएको छ
क्षितिजहरू आँखामा ठोकिएर साँगुरिदै अब यो रातको आहाल बस्न लागेको छ
आँगनमा इन्द्रकमलका सेता युँगाहरू बत्तीको सानो प्रकाश बोकेर हाँसिरहेको छ
आफ्नो सम्पूर्ण रूप लुकाएर बिजुलीका खम्बाहरू सडकमा तैनाथ बनेका छन्
छोपिन सक्दैनन् कि कतै फूलका सुवासहरू आफ्ना रूपहरू अँध्याराले छोप्दैमा
ढाकिन सक्दैनन् कि कतै परेलीहरूले अनन्त दृष्टिहरू मात्र आँखाहरू ठान्दैमा
टाँगिदिऊँझैँ लाग्छ आफैँलाई डाँडामाथि सूर्यलाई पालो दिने अर्को सूर्य बनाएर
खोलेर बगाइदिऊँझैँ लाग्छ सारा रातका आहालहरू, फेरि यता कहिल्यै नजम्ने पारेर ।
०००