भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आमाको आशीर्वाद / दीपक शम्चू

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:21, 7 सितम्बर 2024 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मेरी आमाले
कोक्रोमा हल्लाउँदाहल्लाउँदै
निश्छल विचार भरिदिएकी थिइन् मस्तिष्कमा
भाँडाकुँटी खेल्दाखेल्दै
संसार जित्ने शक्ति दिएकी थिइन् पाखुरीमा ।

काखमा राखेर सिलोक गाउँदै
सुमधुर स्वर भरिदिएकी थिइन् गलामा
आँगन डिल लगेर क्षितिज देखाउँदै
इन्द्रेणी पोतिदिएकी थिइन् आँखामा ।

मुटुभरि माया
ओठभरि हाँसो भरिदिएर
अघि बढ्ने बाटो
देखाइदिएकी थिइन् ।

उदास अनुहारमा बहार छाइदिने
नीरस जीवनमा प्रेमको खेती गर्ने
रहर थियो ।

घामको भारी बोकेर हिँड्दाहिँड्दै
लुटियो मैले गाउने गीतको भाका
भत्काइयो थाकेको बेला बिसाउने शीतल चौतारी ।

मेरो मुटु निचोरेर कैद गरियो
ओठबाट फुत्किनै लागेको मुस्कान
यतै कतैबाट मेरो हातको धनुष खोसेर
नजरमा फालिएको हो तुवाँलो
यहीँबाट कोही कसैले लुटेर मेरो आँसु
झोसिएको हो परेलीमा आगो ।

त्यही आगाको ज्वाला लिएर निस्कँदैछु
यति विघ्न फैलिएको ऐँझेरू डढाएर
सिर्जनाको फूल रोप्न ।