नआऊ साहिँला तिमी यो शहर / दीपक शम्चू
अचानक थाती राखेर जीवनको लयलाई
हर्षोल्लासको छालमा तरङ्गिदै
शहर पसेको थिएँ
भएभरका जम्मै चोट बिसाउन ।
तर, उस्तै छन् कथाहरू
झन् थपिएका छन् चोटहरू
चर्किएर हृदय हराएको छ स्नेह
सकिएर आँसु लागेको छ खडेरी नयनमा |
यस शहरमा
थकाइ लाग्दा बिसाउने
शीतल चौतारी छैन
न त छ, विरक्तिएको मनलाई
अल्मल्याउने जुरेलीको गीत
न त छ, भिजेको परेली लुकाउँदै
आफन्तलाई झुक्याएर भन्न मिल्ने शीत ।
उनिदैन यहाँ
तिहारमा पहिरिने रङ्गीन फूलका माला
बजाइँदैन बाजा उभौली र उधौलीका बेला
कहीँ कतै सुनिदैन
बिनायो र मुर्चुङ्गाको धुन ।
शून्य आफूमात्र बसेर
बिना कथाको जीवन
बाँच्दोरहेछ यो शहर ।
प्रकृतिसँग हातेमालो गर्दै
समयको गतिसँगै पौंठेजोरी खेल्ने
जीवनका हरेक रङको कथा गाउँमै छ ।
वसन्तको पाउलामा रमाइरहेका चरा
वर्षायामको झरीमा भिजिरहेका गोठाला
खेतका गह्रा - गह्रामा झुमिरहेका धानका बाला
सधैँ घुमिरहने यात्रीझैँ
आकाशमा उडिरहने बादल
झरनामा बगिरहने पानी
सुन्दर कविता गाउँमै छ ।
बिना चोटको दुखाइ
बिना बास्नाको फूल
बिना पसिनाको सङ्घर्ष
बिना दुःखको जीवन
केही सार्थकता नहुँदोरहेछ ।
गाउँमा
रोग, भोक र अभावसँगै
शान्ति, सन्तोष र आनन्द छन् ।
नआऊ साहिँला, तिमी यो शहर
भौतिक सुखको लागि
जीवनको ब्यथा बेसाउन ।
०००