वंशवृक्ष / कुन्दन शर्मा
मलाई यो अस्तित्वको अभिमान चाहिन्छ
मलाई मेरो वंश देऊ अब !
मेरो अंशअंशमा
रगत, मासु
हाड र छालामा
ए मातापिता ।
तिमीले रोपेको बीउ फक्रेपछि
किन म फेरि
खालि पाहुना ठहरिएँ
तिम्रो घरथर सापट लिएर बाँचेकी छोरी ?
म
मेरो जीवनलाई
आफैं सह्यानं समर्थ छु
तिमीलाई पनि
उमेरको साँझ पर्दा
मायाले सुमसुम्याएर
त्यो आर्यघाट पुग्दा
मुक्तिको फिलिङ्गो दिन सक्नेछु ।
तर मेरो जन्मको सबै नासो मेटेर
मेरो जातपात नै मासेर
यति सजिलैसित
किन सुम्पिदिन्छौ यसरी
अरूको पहिचानभित्र ?
त्यो जग्गेको पाइलो सर्दासर्दै
म आफ्नै परिवारको दैलोबाहिर पुगेछु ।
ए निर्मोही !
कन्यादानको खड्कूलोमै
तिमीले मलाई दान दिइछौ
नयाँ वंशको टीका लगाई ।
तर अरूको वंशमा
कसरी गाभिने म सहजै
भन त तिमी आफै ?
शारीरिक र मानसिक दुवै स्तरमा
अन्याय भयो त्यो मप्रति ।
म सन्तान जसको
वंशवृक्षको छाया पाउनुपर्ने
मैले उसैको ।
र मैले पनि दिन सक्नुपर्ने
मेरो सन्तानलाई
वंशको अभिमान आफ्नो ।
वंशअधिकार
मौलिक मानिनुपर्छ
र सन्तानले उमेर पुगेपछि
आफै चुन्न पाउनुपर्छ
आमाबाबुबीच
आफ्नो वंश यहाँ ।
सन्तानको परिभाषाभित्र
राख नारीलाई अब ।
सहस्र शताब्दीदेखि
नारीले जन्माएर हुर्काइन्
मनुष्यजातिको वंश कति
तर आश्चर्य !
नारीले नै पाउन सकिनन्
आफ्नो वंश, आफ्नो जाति ।
सभ्यताको लामो इतिहासमा
किन कुनै अस्तित्व मानिएन हाम्रो यहाँ ?
बाँच्नु र मर्नु
फगत दर्ता भयो हाम्रो
अस्पतालको, अदालतको
र पुरुषसम्बन्धको ।
यो एकपक्षीय व्यवस्थामा
फेरि कुन अधिकारको सङ्घर्ष गर्न
हिँडेका छौँ वंशहीन, पहिचानविहीन
जन्मको उधारो प्रमाणपत्र बोकेका हामी ?