भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो पुनर्जन्म हुनेछ / मौन आवाज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:39, 12 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

रुखबाट पात झर्‍यो
गुँडबाट बचेरा खस्यो
हावाले हात दिन सकेन
तल निक्कै तल जिन्दगी खस्यो !

कुन्नी कुन फेदीबाट बग्दै आएको थियो
आँसुको एक अञ्जुली संवेदना
अस्तित्वको मृत्युमा रातभर शीत जम्यो !

उसै पनि म वाष्प थिएँ
माथी उठेँ
खसेँ
कतै अड्किएँ
र विलाएँ !

उसै पनि
म हिउँका कणहरू थिएँ
कतै जमेँ
पग्लिएँ
र सकिएँ !

उसै पनि
म शून्य निर्मित शून्य थिएँ
आएँ
गएँ
र रित्तिएँ !

यद्यपि
फेरि पनि
कठोर यातना - निर्मम चिसो र चरम वर्षात् सहेर
म पुन: जन्मनेछु !

मेरो पुनर्जन्म
नयाँ ऋतु
नयाँ मौसम
नयाँ याम हुनेछ !

मेरो पुनर्जन्म
कहिल्यै नअस्ताउने
नयाँ घाम हुनेछ !

नयाँ जन्ममा
मेरो नयाँ नाम हुनेछ !

०००