दोबाटोको गहिरो शून्यता / मौन आवाज
मैले जुन रातलाई
गहिरो अन्धकार भनेको थिएँ
मानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका छन् !
मैले छोएका सारा यथार्थहरूलाई
मानिसहरूले वर्जित विषय मानेका छन् ।
आगोको स्नान
हिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँ
मानिसहरूले पत्याएका छैनन् ।
पानीको आवश्यकता सम्भोगभन्दा ज्यादा आवश्यक छ
त्यसपछि सुतौँला भनेको थिएँ, मानिसहरू निदाइसकेछन् ।
रातो रंग
रंग होइन रगत हो भनेको थिएँ
मानिसहरूले विश्वास गरेका छैनन् ।
घाँस उखेल्नुपूर्व
मस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँ
मानिसहरू हाँसिरहेका छन् ।
सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँ
मानिसहरू कता हो कता पुगिसकेछन् !
संसारलाई आँखिझ्यालबाट होइन
हृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँ
मानिसहरू मुन्टो बटारिरहेका छन् ।
लज्जा यौनाङ्ग छोप्नु होइन
निर्लज्जता नग्नता होइन भनेको थिएँ
मानिसहरूले प्रतिवाद गरेका छन् !
ईश्वर केवल एउटा अवधारणा हो भनेको थिएँ
मानिसहरूले एकसाथ मलाई हमला गरेका छन् ।
अस्तित्व झुट हो
सत्यको सार्वकालिक महत्व हुँदैन भनेको थिएँ
मानिसहरूले मलाई लखेटेका छन् ।
सीमा र बन्धनहरू अमर्यादित नियमहरू हुन्
तिनलाई नाघेर सीमान्त छुन जाऊ भनेको थिएँ
मानिसहरूले मलाई निर्घात कुटेका छन् ।
प्रेम र संवेदना मायावी खेलौना हो भनेको थिएँ
मानिसहरूले मलाई पागल भनेका छन् ।
हिँड्नु र नहिँड्नुले यात्रा निर्माण गर्दैन
लड्नु र उठ्नुले जीवन निर्माण गर्दैन ।
केवल चेतनाले रुझेको मन मन हुन्छ
केवल विचारले भिजेको शरीर शरीर हुन्छ भनेको थिएँ
मानिसहरू मलाई उपहास गरिरहेका छन् ।
शून्य र चैतन्य एउटै रूप हो
नहुनु तर र भेटिनु अनुभूति हो भनेको थिएँ
मलाई मानिसहरूले सुनिरहेका छैनन् !
०००