Last modified on 11 जनवरी 2025, at 07:27

धामीको रडारमा गाउँ / राजेन्द्र भण्डारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:27, 11 जनवरी 2025 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र भण्डारी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

क्यामेराको ठिक सामुन्ने
बिरुवा रोप्दै ङिच्च हाँस्यो मन्त्री।

र अलिक परको चौरमा
बहुराष्ट्रिय कम्पनीको शिलान्यासमा
नरिवल फुटायो।

ठिक यसै बेलादेखि हो गाउँमा
अलच्छिन पसेको।

तिर्तिरे धारो सुक्यो।
नागपूजा गर्न छोडेनन् तर गाउँलेहरूले।

गाउँमा लच्छिन बोलाउँदै चारै सुर बाँधी
जोगीले फेरी फुक्यो।
देउराली भाक्यो।

बलवान् जागित्रहरू छाप्छाप्ती भए
देवीथान/पञ्चायत भवन,
प्राइमरी स्कुल जताततै।

मध्यरातमा पिपलफेदीमा नाचे
नाङ्गैभुतुङ्गै बोक्सीहरू।

जूनको उज्यालोमा उनीहरूको शरीर
चाँदीझैँ टल्कियो।
छहरामा नुहाए।
जुनेलीमा हाँसे।

कानचिरुवा धामी
जिउमा मसान जगाएर मधौरूछेउ उफ्रियो।

उसको सेतो गाउन र काठका कुण्डलमा
गाउँको जोखाना आयो खुटैखुट।

धामीको रडारमा आए
परिचित बोक्सीका चालढालहरू।

लमतन्न सुतेको बिमारीलाई थाहै थिएन
धामी र बोक्सीको गठबन्धन।