सोह्र श्राद्ध / राजेन्द्र भण्डारी
त्यो तल्लो बारीमा
के रोपिस्?
यसपालि त बाँझो राखिनस् होला नि?
जङ्गलको बाघले पनि आफ्नो क्षेत्र
सुरक्षित राख्छ
तैँले माटो त पराईलाई
बेचिखाएको छैनस् नै होला।
शरीरकी तेरी आमा मरेर गए पनि
सधैँ बाँच्ने आमा त त्यही माटो हो है नभुलेस्।
तेरो शरीरमा
शरीरको कुनै कोशमा, हड्डीमा, चालढालमा
हामी अझैँ छौँ नभुलेस्।
धाप-सिमसार, संसारीमाई, कुलधर्म,
हजुरबा-हजुरआमा, जिजुबा-जिजुमा, मितबाउ-मितामा,
बुढी फूपू-फुपा, छिमेकी अक्कु, कोपा, बतिम,
धबा, निनी सबैसबैलाई श्राद्धको तर्पण दिन नभुलेस्।
छेउको जङ्गल
तैँले फेर्ने सास हो थाहा छ के?
त्यो धारा, त्यो खोला नै
तेरो नसा-नसामा बग्ने रगत हो
बुझिस् के?
तँमाथि यिनको ऋण छ नि।
सिटिङ रुमको भित्तामा सजिएका मेरा बा-आमा
मलाई टुलुटुलु हेर्दैछन्।
सोह्र श्राद्ध आयो।
पितृहरूलाई अब मैले के जवाब दिने होला?