उन्मुक्तिगान / निमेष निखिल
झुल्किन लागेको एउटा कलिलो घाम
तिमीजस्तै सुन्दर छ
हेर्नु छ अँध्यारा बस्तीहरू
कसरी उज्यालिन्छन् तिम्रो आभाले !
निराकार सपनाका जुलुसहरू
उसैगरी निस्कन्छन् विचारको संसारमा
कोलाहलभित्र दबेको उन्मुक्तिको एउटा आवाज
बढ्दै आइरहेछ
हजार सूर्यको जस्तो कान्तितेज
अनुहारमा लुकामारी खेल्छ
बेली फुलेका रहरहरूको बिस्कुन छ
आँखाको परिसरभरि
चमेली मुस्कुराएका आकाङ्क्षाहरूको
एउटा झुन्ड हर्दम मडारिन्छ मनभरि
निर्बन्ध सपनाका पोकाहरू
फेरि झुन्ड्याउनु छ वरपीपलका रुखहरूमा
लछ्रप्प भिजेर आत्मीयताको ओसले
जोड्नु छ मनहरू
गाँस्नु छ प्रीति
गाउनु छ–
गाउँगाउँबाट उठ
बस्तीबस्तीबाट उठ
यो देशको मुहार
फेर्नलाई उठ...
र...
हेर्दै छु म–
झुल्किन लागेको एउटा कलिलो घाम
तिमीजस्तै सुन्दर छ
हेर्नु छ अँध्यारा बस्तीहरू
कसरी उज्यालिन्छन् तिम्रो आभाले!