एउटा बेवारिस प्रश्न / रमेश क्षितिज
बादलले धुम्मिएको छ आकाश
फाट्टफुट्ट परिरहेको छ पानी
ओढेर छाता म हिडिरहेको छु टोकियोको
एउटा सडकको किनारै किनार
हिड्दा हिड्दै मेरा खुट्टाहरू
अचानक अल्झिन्छन्
‘ओहायो गोजाइमास्को आवाजको डोरीमा
रङ्गीन छाता ओढेर
छेउमै उभिएको छ एक बृद्ध मुस्कान !
धेरै वर्ष अघि म जवान छँदा पुगेकी थिएँ
नेपालको सुदूर गाउँमा
र साथी बनाएकी थिएँ स–साना केटाकेटी
र वृद्ध गाउँलेहरू
कहींँ पाइनँ जीवनमा त्यति धेरै माया !
र त वर्षेनी पठाउँछु केही रकम त्यो स्कुललाई भनेर
सम्झिन्छु र करुणाले रसाउँछ मुटु मेरो
कसरी हेर्छन् होला बुद्धका गम्भीर आँखाले
बारुदी सुरुङमाथि हिंडिरहेको निरीह समय
र एम्बुस फलेका भ¥याङहरू ?
हुरीको आक्रामक एक झोंका आउँछ
खोस्छ मेरो हातको छाता
र झार्छ वृद्ध मुस्कानको कोपिला
प्रश्नवाचक चिन्ह उभिरहन्छ त्यहीं बिजुलीको खम्बाझै
हामी लाग्छौँ आ–आफ्नो बाटो !