एउटा मानिसको प्रस्थान / रमेश क्षितिज
एउटा मानिस सर्वोत्कृष्ट कला हो संसारको
ऊ गयोभने उसँगै जान्छन्
कुनै सोचमा डुबिरहेजस्ता उसका गम्भीर आँखा वा दुर्लभ मुस्कान
उसको सीप र कतिपय रहस्यहरू
जाँदा आफूसँगै बोकेर लान्छ उसले कल्पनाको ठूलो सहर
आफूले हिंडिसकेको समयको चौडा सडक
र बिताएको रोमाञ्चक इतिहासलाई रुमालझैँ गोजीमा हालेर
हिडिदिन्छ ऊ कुनै अनिर्दिष्ट दिशातिर
कति रोएको थियो हृदयमा लागेका चोटहरू एकान्तमा गन्दै
वा कति हाँसेको थियो यात्राका मिठा घटनाहरू सम्झिदै
अनेकन् यस्ता कथाहरू आफूसँगै लिएर
छोडेर जान्छ ऊ केवल केही धमिला सम्झनाहरू
एउटा मानिस गयोभने हुँदैन हजारौँ मानिसको भिडमा ऊ
सुनिदैन उसको स्वर र देखिदैन अनुहार
भेटिदैन कुनै पनि रात्रीभोजमा उसको सशरीर उपस्थिति
एउटा मानिस साँच्चै गइदियो भने
सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार !
अभावको चस्माबाट हेरेपछिमात्र
हामी देख्दछौँ टाढा गइसकेको मानिसको मूल्यको आकृति
तर सुन्दैन ऊ हाम्रो आवाज त्यसबेला र फर्केर आउँदैन हामीछेउ
अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले !